आलमलाई सफाइ दिने न्यायाधीशद्वयलाई महाअभियोग लगाउन एमाले सांसदको माग


काठमाडौं, २३ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य किरणकुमार साहले मोहम्मद अफ्ताब अलामलाई सफाइ दिने न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि महाअभियोग लगाइनुपर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता साहले अफ्ताब आलमको फैसलामा राजनीतिक संरक्षण थिएन भनेर प्रमाणित गर्न पनि न्यायाधीशद्वयमाथि महाअभियोग लगाइनुपर्ने बताएका हुन् ।

‘अहिले मिडिया र जनमानसमा यसलाई राजनीतिक संरक्षणको परिणामको रुपमा व्याख्या गरिएको छ । यदि सरकार साच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘यदि यस्तो कदम चालिँदैन भने गठबन्धनले नै अफ्ताब आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्था लोकतन्त्र र न्याय प्रणालीको गम्भीर अपमान हो ।’

साथै, उनले राजनीतिक भागबण्डामा न्यायाधीशको नियुक्ति तत्काल रोकिनुपर्ने माग गरे ।