काठमाडौँ, २३ असार । प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन् ।
यस्तै, सभाका सचिव राईले क्रमशः विनियोजन विधेयक, २०८२, आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए ।
त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाएका थिए ।
प्रतिवेदन पेस
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०८२ पेस भएको छ । समितिका सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेस गरेकी हुन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेका थिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरे । सभामुख घिमिरेले उक्त विधेयकलाई अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएकाले विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको थियो । मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउन विधेयक ल्याइएको बताए ।




प्रतिक्रिया