काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेर पार्टी चुकेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई बुँदे सहमतिले पार्टीप्रति जनतामा नकरात्मक धारणा बनेको उनले बताए ।
‘दुई बुँदेको कुरा गर्दाखेरी सुशासनको नेतृत्व गरेको पार्टीको हैसियतले, दुई बुँदे सहमति जुन ढंगले गरियो, त्यो एकदमै गल्ती नै हो । त्यसले हाम्रो पार्टीप्रति जनताको नकरात्क धारणा छोडेको छ । त्यसलाई हामीले गल्तीको रुपमा स्वीकार गर्नुपर्छ । हाम्रो पार्टीले त्याृे कुरामा विचार पुर्याउन सकेन,’– उनले भने ।
साथै, उनले संविधान संशोधन आवश्यक रहेको बताए । संविधान कार्यान्वयनको सन्दर्भमा दलहरुले सत्तामा रहेको बेलामा पहलकदमी लिन नसकेको उनले बताए । संविधान संशोधन कांग्रेस–एमालेको मात्रै विषय नबनाएर सबै दल र नेपाली जनताको बीचमा यसलाई व्यापक छलफल गरिनुपर्ने उनको भनाइ छ । कांग्रेस–एमालेमात्रैबाट संविधान संशोधन असम्भव रहेको उनको भनाइ छ ।
‘संविधानको १० वर्ष पुग्दैगर्दा समीक्षा गरेर यसलाई थप प्रगतिशील, अग्रगामी र जनमुखी बनाउने कुरा नराम्रो होइन । तर, यो संविधान संशोधन दुईवटा दलको बीचबाट मात्रै छलफल भएर होइन कि सबै दल र नेपाली नागरिकहरुको बीचमा व्यापक छलफल र बहसको बीचबाट यसलाई सकारात्मक सुधारको दिशातर्फ लैजानु आवश्यक पनि हो । एमाले र कांग्रेसले मात्रै यो सम्भव छैन । संविधानमा आम नेपालीको स्वामित्व हुनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया