काठमाडौं, २४ असार । प्रा. डा. दयाराम श्रेष्ठलाई लीलाध्वज थापा साहित्य सम्मान/पुरस्कार अर्पण गरिएको छ । गत शनिवार सम्पन्न नेपाल प्रज्ञा प्रतिष्ठानको सभा भवनमा सम्पन्न भएको साहित्यकार लीलाध्वज थापाको १०५ औं जन्मजयन्ती समारोहमा प्रा.डा. दयाराम श्रेष्ठलाई लीलाध्वज थापा साहित्य सम्मान÷पुरस्कार दिइएको हो ।
सोही अवसरमा चारजना कवि भीष्म उप्रेती, रञ्जना निरौला, डा. विप्लव ढकाल र गीता कार्कीले कविता वाचन गरेका थिए । उनीहरू चारैजनालाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले सम्मानपत्र प्रदान गरेका थिए ।
सोही अवसरमा लीलाध्वज थापाले विक्रम सम्वत् २००९ मा प्रकाशन गर्नुभएको पुस्तक निबन्ध ‘दाह्री’ को नयाँ संस्करण र ठाकुर शर्मा भण्डारी तथा रामप्रसाद पन्तले सम्पादन गरेको ‘विवेचकका दृष्टिमा विजयध्वज थापा’ पुस्तक लोकार्पण भएको थियो । लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार सो कार्यक्रममा समालोचक प्रमोद प्रधानले दुवै पुस्तकबारे बोलेका थिए ।
साथै वरिष्ठ साहित्यकार रमा शर्मा तथा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य दिएका थिए । यादव भट्टराईले सञ्चालन गर्नुभएको सो कार्यक्रम तीन घण्टासम्म चलेको थियो ।




प्रतिक्रिया