आयरल्याण्ड। सन् २००९ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको एक साधारण कार्यसमिति सदस्यको रुपमा सामाजिक यात्रा थालेका चेतराज ओली आज डेढ दशकपछि सोही संस्थाको सर्वोच्च पद, अध्यक्षका लागि मैदानमा उत्रिएका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका ओलीले २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै संस्थागत अनुभव र सामाजिक सेवाको लामो विरासतलाई आफ्नो मुख्य शक्तिको रुपमा अघि सारेका छन्।
ओलीको उम्मेदवारी केवल एक पदको आकांक्षा मात्र नभएर, आयरल्याण्डको नेपाली समुदायमा उनले बिताएको लामो समय र विभिन्न भूमिकामा आर्जन गरेको अनुभवको प्रतिफल हो। चितवन समाज आयरल्याण्डको संस्थापक अध्यक्षको रुपमा दुई कार्यकाल नेतृत्व गरेका उनले समुदायलाई एकताबद्ध बनाउन खेलेको भूमिकालाई धेरैले सम्झन्छन्।
तर, उनको परिचय संस्थागत पदमा मात्र सीमित छैन। ुनेपाल लाइब्रेरी फाउन्डेसनु को युरोप संयोजकको रुपमा उनले नेपालका दुर्गम विद्यालयदेखि कारागारसम्म पुस्तकालय स्थापना गर्न खेलेको भूमिकालाई समुदायमा विशेष सराहना गरिन्छ। ज्ञान र शिक्षाको ज्योति बाँड्ने यो अभियानले उनको सामाजिक छविलाई फरक उचाइ दिएको छ। त्यस्तै, दोलखा र धादिङजस्ता विकट जिल्लाका विपन्न बालबालिकालाई जाडोमा न्यानो कपडा वितरण गर्नेदेखि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउने अभियानसम्म, ओलीको संलग्नता अग्रपङ्क्तिमा देखिन्छ।
आफ्नो उम्मेदवारी घोषणासँगै उनले भने, ‘यो मेरो व्यक्तिगत उम्मेदवारी मात्र होइन, यो एउटा अनुभवी टिमको सामूहिक प्रतिबद्धता हो। हामीले विगतमा सिकेका छौँ, भोगेका छौँ र अब त्यही अनुभवलाई आयरल्याण्डका नेपालीको हितमा लगाउनेछौँ।’
उनले आफ्नो टिममा वर्तमान कार्यसमितिमा रहेर खारिएका अधिकांश सदस्यलाई नै पदोन्नतिसहित अघि बढाउने रणनीति लिएका छन्। यसले संस्थाको निरन्तरता र स्थायित्वलाई बल दिने उनको विश्वास छ।
संस्थागत ज्ञान, मानवीय कार्यको अनुभव र भविष्यको स्पष्ट योजनासहित ओली चुनावी मैदानमा होमिएसँगै एनआरएनए आयरल्याण्डको आगामी नेतृत्व थप प्रतिस्पर्धात्मक र रोचक हुने निश्चित छ।




प्रतिक्रिया