केपी ओली इतिहासकै कमजोर, नालायक र असफल प्रधानमन्त्रीः अग्नि सापकोटा (भिडिओसहित)


काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकार देशमा गणतन्त्र आएपछिको सबैभन्दा कमजोर र असफल रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै माओवादी उपाध्यक्ष सापकोटाल वर्तमान सरकार इतिहासमा सबैभन्दा नालायक र कमजोर रहेको बताएका हुन् । उनले देशको बागडोर सम्हाल्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली विना प्रसंगको राम यहाँ र त्यहाँ जन्मेको भनेर समय बर्वाद गरिराखेको उनले बताए । प्रधानमन्त्री ओलीसँग कुनै राजनीतिक विचार र दृष्टिकोण नरहेको उनले बताए ।

‘एक लज्जाः परित्यज्य, सर्वत्रः विजयी भवेत’ भनेजस्तो केपी ओलीका कुरा तपाईँले सुन्नुभयो भने त्यहाँ न विचार छ, न राजनीतिक दृष्णिकोण छ । अचेल खाली राम यहाँ जन्मेका र उहाँ जन्मेका, विना प्रसंग र विना सन्दर्भका कुराहरु । देशको कार्यकारी प्रधानमन्त्री, जसले देशको बागडोर सम्हाल्नुपर्ने छ । इतिहासमा यति कमजोर, यो गणतन्त्र आइसकेपछि यति कमजोर, यति नालायक, यति असफल सरकार त कुनै भएकै छैन,’– उनले भने ।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले दुई–दुई पटक संसद् विघटना गरेको उनले स्मरण गरे ।