काठमाडौं, २५ असार । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न सकिएको खण्डमा मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाली रेडियो नटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । देशमा १ लाख २० हजार मेगावाट विद्युत उत्पादन सम्भव रहेको बताउँदै उनले १० वर्षको लक्ष्य २८ हजार ५ सय लिइएको बताए ।
‘हामी १० वर्षमा त्यति निकाल्न सक्छौं कि भनेर १० वर्षको लागि तय गरिएको हो । हामीसँग अहिले पहिचान भएको १ लाख २० हजार मेगावाटको कुरा छ । प्रविधिको कारणले अझ बढी विद्युत उत्पादन हुनसक्छ । आवश्यकताको आधारमा यसको विकास हुँदै जान्छ । १० वर्षभित्र २८ हजार ५ सय मेगावाट उत्पादन गर्न सकियो भने देशलाई समृद्ध बनाउन सकिन्छ । आम नागरिकहरुलाई यसमा आयआर्जनको बाटो बनाउन सकिन्छ,’– उनले भने ।
साथै, ऊर्जामा लगानी गर्न लगानीकर्ताको खाँचो नरहेको उनको भनाइ छ । भारत, चीनलगायतका लगानीकर्ताहरु नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न तयार रहेको आफूले पाएको पनि उनले सुनाए । ‘एकदम धेरै हुनुहुन्छ । हामीहरुले वातावरण बनाउनुपर्छ । लगानीकर्ताहरु किन आकर्षित हुन्छन् भन्दाखेरी जहाँ लगानी सुरक्षित देख्छन्, त्यहाँबाट आफ्नो नाफा देख्छन् भने लगानीकर्ता जहाँ पनि जाने हुन्छ । अहिले त स्वदेशी लगानीकर्ताहरु पनि धेरै ठूलो–ठूलो परियोजनामा लगानी गर्न थालिसकेको अवस्था छ । लगानीकर्ताको समस्या भने रहँदैन,’– उनले भने ।
उनले बुढीगण्डकी, अपर अरुण, तमोर लगायत जलशाययुक्त आयोजनाहरुलाई अगाडि बढाइएको बताए । ‘ठूला–ठूला परियोजनाहरुलाई अगाडि बढाउने काममा हामी लागिराखेका छौं । अन्य विदेशी कम्पनीहरुले लिएको आयोजनाहरुलाई पनि अगाडि बढाउनुपर्छ भन्ने लक्ष्यका साथ काम गरिराखेका छौं । हामी निरन्तर त्यसको संवादमा पनि छौं,’ उनले भने ।




प्रतिक्रिया