काम गर्न नसक्ने मन्त्री फिर्ता बोलाउनुपर्छ भन्नु स्वभाविक होः मन्त्री खड्का


काठमाडौं, २५ असार । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले तत्काल सरकार फेरबदल नहुने बताएका छन् । वर्तमान सरकार स्थायित्वको लागि बनेको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुशासन कायम गर्न, विकास निर्माणका कामहरु अगाडि बढाउन नै ठूला दलहरु मिलेर सरकार बनाइएको बताएका हुन् ।

‘हामीहरुले यो गठबन्धन गरेको कारण नै सरकार अस्थिर भयो । महिनैपिच्छे सरकार फेरबदल गर्नुपर्ने अवस्था भयो । सरकारको स्थायित्व नभइकन सुशासन कायम हुन नसक्ने, विकास निर्माण अगाडि बढ्न नसक्ने परिस्थिति थियो । त्यो परिस्थितिलाई ध्यानमा राखेर नै ठूला दलले सहकार्य गरेका हुन् । त्यसकारणले यो सरकार अदलबदल हुँदैन,’– उनले भने ।

साथै, बाहिर मिडियामा आएजस्तो नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारको बारेमा आलोचना नभएको उनको दाबी छ । मन्त्रीहरुले काम गर्न सकेनन् भने फिर्ता बोलाउनुपर्छ भन्नुलाई स्वभाविक मान्नुपर्ने उनको भनाइ छ । ‘केन्द्रीय कमिटीमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ पनि दिनुभएको छ । केही विषयहरुमा उहाँहरुले प्रश्न राख्नुभएको छ । बाहिर भनिएजति आलोचना भएको होइन । उहाँ (गगन) ले पनि त्यसो भनेको होइन । काम गर्न सकेनन् भने फिर्ता बोलाउनुपर्छ भन्नु त स्वभाविक हो नि,’– उनले भने ।