प्रचण्डलाई देखाईदिने भन्दै चितवनमा शक्ति प्रदर्शन गर्ने तयारीमा जनार्दन शर्मा


काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा अध्यक्ष पुष्पकमल दाहालसँग यतिवेला पानी बाराबारको अवस्थामा छन् । पार्टी छोड भनेर भनिसकेको अभिव्यक्ति दिएका जनार्दन यतिवेला शक्ति सञ्चयको तयारीमा जुटेका छन् ।

आफ्नो गृहजिल्लामा आफूले मेहनत गरेर भेला पारेको मासलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आफ्नो मानमर्दन गरेको भन्दै जनार्दन रिसले आगो भएका छन् । काठमाडौं फर्किएपछि उनले मिडियामा अन्तर्वार्ताको क्रममा प्रचण्डले आफूलाई दुई चोटी पार्टी छोड भनिसकेको भनेर खुलासा गरेका थिए ।

सार्वजनिक रुपमै प्रचण्डले त्यसको खण्डन गरेका छन् । तर, प्रचण्ड र जनार्दनबीच सम्बन्ध चिसिएको कुरामा सिंगो माओवादी पार्टी पँक्ति जानकार छ । विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको निर्वाचनदेखि वाईसिएलको नेतृत्व छनोटसम्म आईपुग्दा जनार्दनले आफ्नो उपस्थित देखाउन खोजेका छन् । यद्धपी दुवै संगठनको नेतृत्वमा भने शर्मा पक्ष आउन सकेन । संसद्मा पनि उनले आफूलाई फरक रुपमा पेश गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा पार्टीले सत्तापक्षसँग गरेको दुई बुँदे सहमतिलाई उनले गलत भनिसकेका छन् । यो बीचमा जनार्दनले प्रचण्डको गृहजिल्ला चितवनमा छुट्टै भेलाको तयारी गरेका छन् । उनले आफूनिकट नेताहरुलाई चितवनमा शक्ति प्रदर्शनको लागि तयारी थाल्न भनेको उनीनिकट उच्चस्रोतको दाबी छ । चितवनमा हुने उनको भेलाले नै उनी पक्षधर नेताहरु को-को हुने भनेर खुल्ने बताईएको छ । अहिलेसम्म जनार्दनलाई सांसद सुदन किरातीलगायतले साथ दिएका छन् ।

उनले पार्टीका आधिकारिक बैठक र फोरममा आफूले पार्टी पूनसंरचनाको लागि आवाज उठाएको स्पष्ट पार्दै आएका छन् । आफूले पार्टी नेतृत्व परिवर्तनको लागि भन्दापनि माओवादीको रिब्राण्डिङको लागि कुरा उठाएको शर्माको भनाई रहँदै आएको छ । तर, अब पूरानो पुस्ताले नभएर नयाँ पुस्ताले पार्टी नेतृत्व गर्नुपर्छ भनेर आफूले भनेको पनि उनले स्विकारेका छन् । उनले भने,‘म त अब पार्टी नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने पक्षको हुँ, म त अध्यक्ष प्रचण्ड सँगैको पनि भईहालें, करिब करिब उहाँसँगैको भएँ, आजको सामाजिक र प्रविधिको विकास, र आजको समस्याको हल गर्नको लागि पार्टी निर्माण गर्नुपर्छ भनेर मैले विषय उठाएको हुँ । पार्टीमा भएका गलत अभ्यास, अराजकताका विरुद्ध मैले पार्टी निर्माणको उद्देश्यमा आधारित भएर उठाएको मुद्दा हो ।’

पत्रकार ऋषि धमलाले ‘अब तपाईं पार्टीभित्र विद्रोह गर्ने तयारीमा हो त’ भन्ने प्रश्नमा उनले त्यस्तो नभएर पार्टीलाई सुधार गर्नको लागि आफू लागिपरेको स्पष्ट पारे । उनले भने,‘पार्टीलाई अगाडि बढाउने, पार्टीका कमिकमजोरी सच्याउनको लागि मेरो संकल्प र प्रतिबद्धता हो ।’

शर्माले अहिलेपनि माओवादी बाहिरकाले माओवादी फुटोस भनेको र माओवादीभित्र पनि जनार्दन पार्टीमा नबसोस भन्नेहरु हुनसक्ने सुनाए । तर, आफू पार्टी निर्माणमा अघि बढेको शर्माको भनाई छ । सामाजिक न्याययुक्त समाज बनाउनको लागि आफूहरुको भूमिका बढाउनको लागि आफू लागिपरेको उनको भनाई छ । उनले आफूले पार्टीभित्र उठाएको प्रश्न र बहसले माओवादीलाई नफुटाउने बरु बलियो बनाउने पनि दाबी गरेका छन् । file photo