६ वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं, असार २६ । आज संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ । जसअन्तरगत अहिले बिहान साढे ११ बजेदेखि बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्दार र पुनस्र्थापना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, अहिले बिहान ११ बस्ने अर्थसमितिको बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ भने दिउँसो १ बजे बस्ने दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल हुने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषदसँग छलफलको कार्यसूची रहेको छ ।

सार्वजनिक लेखा समितिको बैठकमा समितिको २३औं बार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची राखिएको छ । यी सबै बैठक दिउँसो १ बजेदेखि बस्नेछन् ।