विद्या भण्डारी दशा लागेर राजनीतिमा फर्किनुभयो, ओलीका लागि सबैभन्दा सस्तो बेसाहा उहाँ नै होः दयालबहादुर शाही


काठमाडौं, २६ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दशा लागेर राजनीतिमा फर्किएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको लागि विद्या भण्डारी सबैभन्दा सस्तो बेसाहा रहेको बताए । ओलीले माधव, झलनाथ, वामदेव, प्रचण्डजस्ता शक्तिहरुलाई सामना गरेर आएको बताउँदै उनले विद्या भण्डारी र इश्वर पोखरेलको नाटक ५÷६ महिनाभन्दा नचल्ने बताए । उनले माधव, झलनाथ, वामदेव, प्रचण्डले बजाएको मादलमा ईश्वर पोखरेल र विद्या भण्डारी नाचिरहेको बताए ।

‘ओलीसँग ठेसिनेको जसका जसका दशा लागेका छन् नि, माधव, झलनाथ, प्रचण्ड । त्यस्तो विद्या भण्डारीको पनि दशा लागेको ठान्नुस् । उहाँले आराम गर्नेपर्ने ठाउँमा किन दशा लाग्ने बाटो रोज्नुभयो ? अचम्म लागिराखेको छ ।’ उनले भने, ‘यो पानीका फोृकामात्रै हो । प्रचण्डजस्तै आकार आएको चुनौति होइन । ओलीले सामना गरेका माधव, झलनाथ, वामदेव, सीपी, आरके सबैमध्ये सबैभन्दा सस्तो बेसाहा भनेको विद्या भण्डारीको हो । सबैभन्दा सस्तो चुनौति । एमालेजस्तो तीष्ण राजनीतिक शक्ति अरु छैन । बाहिरबाट माधव, झलनाथ, वामदेव, प्रचण्डले मादल ठोकिराख्नुभएको छ । ईश्वर पोखरेल र विद्या भण्डारी नाचिराख्नुभएको छ । यो नाटक पाँच÷छ महिना पनि चल्दैन ।’

विद्या भण्डारीले अष्टलक्ष्मी शाक्यलाई अनेमसंघबाट उठिबास लगाएजस्तै ओलीलाई एमालेबाट उठिबास लगाउन सम्भव नरहेको उनले बताए । उनले ओलीलाई विद्या भण्डारीले विस्तापित गर्ने कुरा पहरा र भँगेराको लडाइको रुमा चित्रण गरे ।