काठमाडौं, २६ असार । नेपाली कांग्रेसभित्र अहिले अनुशासनको कारबाहीलाई लिएर विरोध चुलिएको छ । शेखर कोइराला पक्षले आफू पक्षधर नेताहरुलाई छानी–छानी कारबाही गरेको भन्दै आज छुट्टै भेलाको आयोजना गरेको छ । बालुवाटारमा भएको भेलामा अनुशासनको कारबाही नमान्ने र देशव्यापी रुपमा यसको प्रतिरोध गरिने भनिएको छ ।
चन्द्र भण्डारी, अर्जुननरसिंह केसीलगायतले सार्वजनिक रुपमै अनुशासनको कारबाहीको विरोध गरेका छन् । भण्डारीले कारबाही फिर्ता लिन भनेका छन् भने केसीले कारबाहीको विरुद्धमा देशव्यापी रुपमा रिले अनशनमा बस्ने चेतावनी दिएका छन् । शेखर पक्षले बोलाएको बैठकमा महामन्त्री गगनकुमार थापा भने उपस्थित् थिएनन् ।
उनी कामविशेषले यतिवेला थाइल्याण्डमा छन् । तर, बैठकमा भने गगनको खोजी भएको नेताहरुले जनाएका छन् । थापाले आफूनिकट नेताहरुलाई मात्रै आफ्नो बैंककको कार्यक्रमबारे जानकारी दिएका छन् । हिजो भूमिसम्बन्धी विद्येयक अघि बढाउने सरकारको तयारी थियो । तर, कांग्रेस सांसदहरुको विरोधको कारण भूमि सुधारसम्बन्धी बलराम अधिकारी विद्येयक अघि बढाउनबाट रोकिएका हुन् ।
सभामुख देवराज घिमिरेलाई कांग्रेस सांसदहरुले भेटेरै यो विद्येयक अघि नबढाउन भनेपछि रोकिएको बताईन्छ । यसमा गगनले नै अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई होमवर्क गर्न भनेका थिए । गगन छिट्टै काठमाडौं फर्किने बताईएको छ । उनी फर्किएपछि अनुशासनको कारबाहीको विषयमा आफ्नो धारणा राख्ने जनाईएको छ ।




प्रतिक्रिया