काठमाडौं, २६ असार । नागरिक उन्मुक्ति पार्टी सरकाराई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा पुगेको छ । तर, सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरीले भने अहिलेसम्म राजीनामा दिएका छैनन् । उनी मन्त्रालयपनि नआएको बुझिएको छ । सुदूरपश्चिम सरकारमा समेत सहभागी भएको नाउपा त्यहाँ आफ्नो मन्त्रीलाई बर्खास्त गरेपछि केन्द्र सरकारसँग असन्तुष्ट बनेको थियो ।
अहिले सुदूरपश्चिम सरकारबाट नाउपा बाहिरिएको छ । समर्थन पनि फिर्ता लिईसकेको छ । यता, केन्द्रमा भने सरकारलाई दिएको समर्थन फिर्ता लिईएको अवस्थामा पनि नाउपाका मन्त्री चौधरी भने अहिलेसम्म राजीनामा नदिई बसेका छन् । योबीचमा नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ भने बालुवाटार र बुढानिलकण्ठ धाइरहेका छन् । रेशमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर नै भेटवार्ता गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले समेत रेशमलाई बुढानिलकण्ठ बोलाई छलफल गरेको बताईन्छ । यस्तै, देउवाका विश्वासपात्रसमेत रहेका सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले समेत रेशमसँग छुट्टै भेट गरेको र देउवाको सन्देश सुनाएको भनिएको छ । अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी कित्तामा उभिएको नाउपाका मन्त्रीले किन राजीनामा दिएनन् ? भनेर चर्चाको विषय बनेको छ ।
कतिपयले नाउपा अब राज्यमन्त्रीमा मात्रै सिमित नभएर सिंगो मन्त्रालय नै लिएर सरकारमा जानेगरि छलफलमा जुटेको पनि भनेका छन् । प्रधानमन्त्री ओलीले आगामी सातासम्म मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेको बताईन्छ । उता, सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर कार्यकारिणी समिति बैठकबाट निर्णय गराएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि संसदीय दलको बैठक राखेर निर्णय लिन सकेका छैनन् । सबैले यतिवेला अब हुने मन्त्रिपरिषद् पूनर्गठनलाई कुरेको बताईन्छ ।




प्रतिक्रिया