विद्या भण्डारीले पदको गरिमा राख्न नसकेको वरिष्ठ अधिवक्ता त्रिपाठीको दाबी, एमालेको तल्लो कमिटीमै चुनाव हार्न सक्ने खतराको संकेत


काठमाडौं, २७ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किनु गलत रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भण्डारी एमालेको राजनीतिमा फर्किनु अशोभनीय रहेको बताएका हुन् । उनले भण्डारीले भोलि एमालेको बुथ कमिटी (तल्लो) समितिकै चुनाव हार्ने खतरा रहेको बताए ।

‘राष्ट्रपति भनेको फस्ट सिटिजन अफ नेशन हो । राष्ट्रको गतिवटा गोप्यता उसलाई थाहा हुन्छ । पार्टीको राजनीतिमा फर्किन पाउने नपाउने आफ्नो विवेकले निर्णय गर्ने कुरा हो । विद्या भण्डारीज्यूको यो निर्णय अशोभनीय छ, यो विवेकसम्मत निर्णय होइन । मुलुकको फस्ट सिटिजन भइसकेपछि अब एमालेको चुनाव लड्दै जाने ? बुथ समितिमै भोलि हार्यो भने के होला ? भोलि पार्टीको महाधिवेशन प्रतिनिधि, के–के हुन्छ नि । त्यसमै हार्यो भने के होला ? भोलि केन्द्रीय समितिमा हार्यो भने के होला ? आफ्नो पदको गरिमा र मर्यादा पनि राख्नुपर्छ । रिटायर्ड भइसकेपछि पदको दायित्व राख्नुपर्छ,’– उनले भने ।

भण्डारी चीन जाँदासमेत एमालेको नेताको हैसियतमा गएको उनले बताए । भण्डारी राजनीतिमा फर्किनु गलत रहेको उनको दाबी छ । ‘उहाँ राजनीतिमा आउन हुँदैन । उहाँको दायित्व छ, पदमा नरहेपनि मुलुकको गरिमा, मुलुकको सम्मानलाई कायम राख्नुपर्छ । चीनमा जान्दा पनि उहाँ एमालेको नेताको हैसियतले जानुभयो । सेनाको पनि परमाधिपति भइसकेको व्यक्ति पार्टी पोलिटिक्समा आउन मिल्छ ?’ प्रश्न गर्दै उनले भने ।