विद्या भण्डारीले एमालेको अध्यक्ष बन्ने चाहना राख्नुभएको छः विष्णु रिजाल (भिडिओसहित)


काठमाडौं, २७ असार । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको अध्यक्ष हुने अपेक्षा राखेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता रिजालले भण्डारीले एमालेको अध्यक्ष बन्न चाहेको बताएका हुन् । नेता रिजाललले लोकतान्त्रिक पार्टीमा नेतृत्व हस्तान्तरण स्वभाविक मान्नुपर्ने बताए ।

‘उहाँ (विद्या भण्डारी) ले त्यो चाहना राखेको मैले बुझेको छु । त्यसले गर्दा स्वभाविक ढंगले लोकतान्त्रिक पार्टीभित्र नेतृत्व हस्तान्तरणको कुरा, परिवर्तनको कुरा समय आएपछि गर्न पाइन्छ, गर्न सकिन्छ र गर्न पनि पर्छ । तर अहिले त्यो समय आएको छैन,’– उनले भने ।

नेता रिजालले विद्यादेवी भण्डारी एमालेको अहिले पनि शीर्षस्थ नेतृत्व नै रहेको बताए । भण्डारी दुई÷दुई पटक एमालेको उपाध्यक्ष, मुलुकको राष्ट्रपति भइसकेको र सार्वजनिक कार्यक्रममा नै पार्टी सदस्यता नवीकरण गरेको कुरा सार्वजनिक गरिसकेको अवस्थामा उनी सक्रिय राजनीतिमा फर्किने वा नफर्किने भन्ने प्रश्न नै नरहने उनले बताए । भण्डारी सक्रिय राजनीतिमा फर्किइसकेको बताउँदै उनले सबै मिलेर एमालाई बलियो, बढी लोकप्रिय र परिणाममुखी पार्टी बनाइने उनले बताए ।

साथै, पार्टीमा नेतृत्व हस्तान्तरणको बहस सुरु हुने बेला नै नभएको उनले बताए । वैधानिक रुपमा नै केपी शर्मा ओलीले अझै डेढ वर्ष कार्यकाल बाँकी रहेको बताउँदै उनले अहिले नेतृत्व परिवर्तनको बहसको कुनै औचित्य नरहने बताए । ‘अहिले म कतिमात्र भन्न सक्छुभने– हामी विधान महाधिवेृशनको संघारमा छौं, हाम्रो पार्टी हाम्रो राष्ट्रिय महाधिवेशन हुनका लागि झण्डै डेढ वर्ष बाँकी छ । २०८३ को मंसिरको १० देखि १४ गतेसम्म हाम्रो महाधिवेशन हुनपर्छ । अहिले हामी विधान महाधिवेशनको सन्दर्भमा छौं । यो डेढ वर्षको अवधिमा धेरै चिजमा परिवर्तन आउन सक्छ । व्यक्तिको आफ्नो सोचाइमा पनि परिवर्तन आउन सक्छ, अहिले हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेढ वर्ष वैधानिक हिसाबमै कार्यकाल बाँकी छ । यो बेलामा नेतृत्व परिवर्तको बहस गर्नु कुनै औचित्य छैन,’– उनले भने ।

‘केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष बन्ने विधानले रोक्दैन ? कुनै पनि समस्या छैन ?’ भन्ने प्रश्नमा उनले भने, ‘कुनै पनि समस्या छैन । कसैलाई पनि रोकतोक गरेको, बाधा बन्देज लगाएको छैन ।’