विद्या भण्डारीलाई केपी ओलीले सहजरुपमा अध्यक्ष स्वीकार गर्नुहुन्छः विद्या भट्टराई (भिडिओसहित)


काठमाडौं, २८ असार । नेकपा (एमाले) कि नेतृ एवं पूर्वमन्त्री विद्या भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई केपी शर्मा ओलीले पार्टी अध्यक्ष सहजरुपमा स्वीकार गर्ने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भण्डारीलाई ओलीले सहजरुपमा स्वीकार गर्ने बताएका हुन् ।

‘विद्या भण्डारी आउन खोज्दा केपी ओलीले स्वीकार गरिहाल्नुहुन्छ । त्यो कुनै गाह्रो कुरा नै होइन । हिजो उहाँ नेकपा (एमाले) को उपाध्यक्ष हुनुहुन्थ्यो । केपी ओलीले नै प्रस्ताव गरेर राष्ट्रपति हुनुभयो । त्यहाँ झगडा गर्नुपर्ने, प्रतिद्वन्द्वी बन्नुपर्ने कुरा नै होइन यो । नेतृत्व हस्तान्तरणको कुरा लोकतन्त्रमा सामान्य हुन्छ । लोकतन्त्र भनेकै व्यक्ति परिवर्तन र प्रणाली परिष्कृत हुँदै जाने हो,’– उनले भनिन् ।

जनताको बहुदलीय जनवाद मान्नेहरुले प्रतिस्पर्धा र पहलकदमीलाई स्वीकार गर्न सक्नुपर्ने उनले बताईन् । पार्टीको विधान महाधिवेशनमा दुई कार्यकाल र ७० वर्षे उमेर हदमा छलफल भएर बाँकी कुरा अगाडि बढाइने उनले बताईन् । नेतृ भट्टराईले नेतृत्वको प्रतिस्पर्धाले पार्टी विभाजन गर्छ भन्ने निष्कर्षमा पुग्न नहुने र पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ ।

‘नेतृत्वको हस्तान्तरणको प्रक्रियालाई लोकतन्त्रको सान्दर्भिक प्रक्रिया मान्नुपर्यो । यसलाई हामीले असान्दर्भिक भन्नै भएन । अर्को कुरा भनेको जनताको बहुदलीय जनवादले प्रतिस्पर्धा, पहलकदमी भन्छ नि । पहलकदमी र प्रतिस्पर्धा जबज मान्नेहरुको लागि स्वीकारोक्तिको विषय नै भयो नि,’– उनले भने ।