मौद्रिक नीतिले निक्षेपकर्तालाई अन्याय भयोः पूर्वगभर्नर क्षेत्री


काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले निक्षेपकर्तालाई अन्याय भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निक्षेपको व्याजदर घट्दाखेरी निक्षेपकर्ताहरु मारमा परेको उनले बताए ।

पूर्वगभर्नर क्षेत्रीले निक्षेप र अटोमोबिल इन्ड्रष्टिजमा बाहेक अरु कुरामा मौद्रिक नीति राम्रो नै रहेको बताए । ‘निक्षेप राखेर जीविका चलाउनेहरुको लागि अन्याय भएको छ । अटोमोबिल इन्ड्रष्टिमा भएकाहरुको लागि केही व्यवस्था गरेको जस्तो देखिएको छैन । अरुको हकमा बजारमा जे–जे गुनासो गरिएको छ, सबैलाई चाहिँ जतिजति पुग्छ, त्यति–त्यति दिन खोजेको जस्तो देखिएको छ,’– उनले भने ।

साथै, वर्तमान मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने उनले विश्वास व्यक्त गरे । राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिको कारण महँगी भने बढ्न सक्ने उनको अनुमान छ । उनले भने, ‘नेपाल राष्ट्र बैंकको लक्ष्य मुद्रा स्फिर्तिलाई नियन्त्रण गर्ने, बैंकिङ स्थायित्व कायम गर्ने, सोधानान्तरलाई पनि स्थायी रुपबाट लिने भन्ने हो । सोधानान्तर त अहिले एकदमै नाफामा रहेको हुनाले त्यतापट्टी डर त नहोला । तर, यसले मूल्य वृद्धि गर्ने सम्भावना चाहिँ बढी नै देखेको छु मैले । यो राष्ट्र बैंकको नीतिभन्दा अलि बाहिर जान्छ कि भन्ने आशंका हो ।’