काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । काठमाडौं ओर्लिएका खनालले एयरपोर्टमा पत्रकार सम्मेलन गर्दै दुई देशबीच सम्बन्ध विकास गर्नेबारे चिनियाँ पक्षसँग लामो कुराकानी भएको स्पष्ट पारेका छन् ।
उनले आफूले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख सुन हैयानसँग नेपालको कम्युनिस्ट आन्दोलनबारे छलफल भएको स्पष्ट पारे । नेपालका कम्युनिष्टहरु विभाजित हुँदा चिनियाँ पक्ष चिन्तित भएको खनालको भनाई छ । खनाल चीन भ्रमणमा गइरहने नेतामध्येमा पर्छन् । उनले बीआरआई पनि लागु गर्नुपर्ने मत राख्छन् । कतिपयले बीआरआई फ्रेमवर्क सम्झौतामा प्रश्न उठाउँदा उनले बीआरआईको सार्वजनिक रुपमै बचाउ गर्दै आएका छन् ।
उनी चीन उड्नुअघि अध्यक्ष माधवकुमार नेपाललाई नेतृत्वबाट बिदा लिन सुझाव दिएर उडेका थिए । अध्यक्ष नेपालले भ्रष्टाचारको मुद्दा खेपिरहेको अवस्था छ । यही अवस्थालाई ध्यानमा राखेर खनालले नेपाललाई नेतृत्व छाड्नुपर्ने सुझाव दिएको बताईन्छ ।
यद्धपी नेपालले पनि हिजो एक कार्यक्रममार्फत कमिटीले आफूलाई अध्यक्षबाट हट भने तयार रहेको जवाफ दिएका छन् । तर, देशव्यापी रुपमा पार्टी पँक्तिले आफूलाई षड्यन्त्र र प्रतिशोध गरिएको भनेर खुट्टा नकमाउन भनेकोले आफू सामना गर्न तयार रहेको जवाफ पनि उनले दिएका थिए ।




प्रतिक्रिया