रवि लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको छ : झलनाथ खनाल


काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको टिप्पणी गरेका छन् । यद्धपी उनले लामिछानेले गल्ती र कमजोरी गरेको छैन भन्न आफूले नसक्ने उनको टिप्पणी छ । तर, यो वा त्यो गल्ती भयो भन्ने नाममा लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको खनालको टिप्पणी छ ।

पाँच दिन लामो चीन भ्रमण सकेर आज स्वदेश फर्किएका खनालले सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । लामिछाने नेतृत्वको रास्वपाले सभापतिविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै त्यसकाविरुद्धमा हस्ताक्षर अभियान चलाईराखेको सन्दर्भमा नेता खनालको यस्तो अभिव्यक्ति आएको हो । उनले भने,‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र । तर रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई पनि महसुस छ।’

यस्तै, खनालले नेपालका वामपन्थीहरु अलग अलग कित्तामा विभाजित भएको विषयमा चिनियाँ पक्षले चिन्ता व्यक्त गरेकोको पनि सुनाए । खनालले नेपालमा वामपन्थीहरुबीच एकता सम्भव रहेको पनि औंल्याए । उनले भनेका छन्,‘‘वामपन्थी एकता आजको आवश्यकता हो । यसको कुनै विकल्प छैन । तर, प्रत्येक वामपन्थी समूहले आफूलाई सही विचारतर्फ अगाडि बढाउनुपर्छ । वैज्ञानिक समाजवादलाई लक्ष्य बनाएर अगाडि बढाउनुपर्छ । त्यसो भयो भनेदेखि वामपन्थी एकताको निम्ति राम्रो आधार तयार बन्दै जान्छ । देब्रे–दाइने, लपन–छपनका कुराहरु सबैले छोडेर वैज्ञानिक समाजवादलाई लक्ष्य बनाएर अगाडि जाने हो भने वामपन्थी आन्दोलनको नेपालमा उज्जवल भविष्य छ ।’