रामकुमारी झाँक्रीले अब यस्ता शब्दहरु निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी–मिनाहा गर्ने सोचमा छौं : पाण्डे


काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सरकारले देश र जनता बर्सिएको आरोप लगाएका छन् । उनले भने,‘वर्तमान सरकार गठन भएको एक वर्ष पुगिसकेको छ । सरकार बन्ने कुरा गरेको कुरा गर्दा त एक वर्ष ११ दिन पुगेको छ । ७ बुँदेमा हस्ताक्षर भएपछि यो सरकार बन्ने कुरा भएको हो, तर पूर्णता पाएको एक वर्ष पुगेको छ । अहिले एकखालको निराशा आएको छ । उत्साह ल्याउनुपर्ने थियो, समृद्धिको बाटोमा लैजानुपर्ने थियो, त्योखालको काम गरेको देखिँदैन् । नियमित काम भैरहेको छ । सरकार चलेकै छ । गभर्नर तीन महिनापछि नियुक्त हुन्छ । यस्ता घट्ना भोगिरहेका छौं ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पाण्डेले कांग्रेस र एमालेजस्तो मुलुककै पूरानो र बलिया शक्तिहरु मिलेर सरकार बनाउँदा त्यहीअनुसारको नतिजा आउन नसकेको र जनता निराश हुनुपरेको टिप्पणी गरे । उनले भने,‘यो मुलुकले जुनखालको शक्तिशाली सरकार पाएको छ, यस्तो सरकार मुलुकले विरलै पाउँछ । संसद्मा कांग्रेसको ८८ र एमालेको ७८ को संख्या छ । यी ठूला राजनीतिक दलहरु २००३ र २००६ सालमा स्थापना भएका शक्तिहरु आज सरकारमा छन् । जनताले अपेक्षा गरेबमोजिम काम सरकारले काम गर्न सकेको छैन । सरकारले मुलुक र नेपाली जनता बिर्सिरहेको छ । शक्तिशाली सरकारले गर्नुपर्ने काम यसले बिर्सिएको छ । विकास निर्माणतर्फ ध्यान दिएको देखिँदैन् । दुई पार्टीको यो सरकारलाई अग्रगमनको बाटो नसमाउने र जनतालाई निराशाबाट मुक्त नगराउने छुट छैन् ।’

उनले गणतन्त्र प्राप्तिपछि मुलुकमा विकासका काम भएपनि द्रुत गतिमा समृद्धि अघि नबढेकोमा गुनासो पोखे । उनले भने,‘जुन ढंगले सरकार चलाउनभएको छ, यो सरकारले यो देशको समृद्धिको निम्ति द्रूत गतिमा काम गर्नुपर्छ, गणतन्त्र आएपछि काम भएको छ । केही काम भएका छन् । मुख्य रूप्मा हामीले गर्नुपर्ने काम भनेको नै समृद्धिको लडाईं हो । आर्थिक क्रान्ति गर्न बाँकी छ । यो सरकारलाई काम नगर्ने छुट छैन् । यसले काम नगर्दा व्यवस्थाप्रति वितृष्णा पैदा होला भन्ने खतरा छ । नेपाली जनतालाई आशा र मुलुकको अग्रगमन कायम गर्न सरकार प्रभावकारी हुनुपर्छ ।’ उनले नेपाललाई छिट्टै समृद्ध बनाउन सकिने पनि आधार पेश गरे । ‘सरकारले नेपाली जनता र मुलुक बिर्सिनुभएन, तर यो सरकारले काम गरेर देखाउन सकेन ।’–पाण्डेले भने ।

पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले स्वयम झाँक्रीलाई नै नोक्शानी गरेको पाण्डेको तर्क छ । उनले भने,‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ । जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिंगो मुलुकले माधव नेपालालई भ्रष्टाचारी भन्न सकेको छैन् । माधव नेपाल अहिलेपनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ । उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन् । तर, उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिँदैन् । यस सम्बन्धमा हामीले सचिवालय बैठक बस्यौं । छलफल गर्यौं । यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहोर्याउनेगरि र अब यस्ता शब्दहरु निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौं । उहाँले कुनखालको रिपोर्ट दिनुहुन्छ, त्यसमा भरपर्छ । जवाफपछि मात्रै यसको टुँगो लाग्छ ।’

उनले वामदेव गौतमसँग एकवर्षदेखि छलफलमा रहेको र अहिले आएर एकता गर्नेबारे सहमति भएको खुलासा गरे । उनले भने,‘उहाँसँग एक वर्षदेखि कुरा चलेको हो । आगामी साउन २ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर एकीकृत समाजवादीसँग एकता हुन्छ । वामदेवको प्रस्ताव ग्रहण गर्नेखालको आएको छ । अहिले उहाँको प्रस्ताव हेरेर पत्याएका छौं ।’