घुस काण्डमा मुछिएका एमालेका मन्त्रीहरुले राजीनामा नदिने हो भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छः कांग्रेस नेता रसाइली


काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका नेकपा (एमाले) का मन्त्रीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता रसाईलीले मन्त्रीहरु आफैंले नैतिकाको आधारमा राजीनामा नदिने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो रेकर्ड बाहिरिएको थियो । उक्त प्रकरणमा भूमिमन्त्री बलराम अधिकारी पनि जोडिएका छन् । अधिकारी र गुप्ता दुवै एमालेका मन्त्री हुन् ।

‘त्यसमा सरकारले आन्तरिक छानविन पनि गर्ने, मन्त्रीको नाम आइसकेपछि, मन्त्रीको भ्वाइस रेकर्ड नै बाहिर आएपछि त्यसमा सरकारको आन्तरिक छलफलको विषय पनि बनाउनुपर्छ । सरकारका मन्त्रीहरुले पनि नैतिकता प्रर्दशन गर्नुपर्छ । मुलधारका मिडियामा सरकारका मन्त्रीहरुको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौति थपिएको छ । सरकारले यसमा छानविन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरुले नैतिकता पनि देखाउनुपर्छ । पहिलो कुरा मन्त्रीहरुले राजीनामा दिनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,’– रसाईलीले भने ।

साथै, उनले एक वर्षे कार्यकालमा सरकारले एकदमै उत्कृष्ट अंक ल्यायो भन्न सकिने अवस्था नरहेको बताए । सरकारका केही मन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न खोजेजस्तो हुटहुटी भने देखिएको उनको बुझाइ छ । उनले सरकारले नेपाली जनताको चाहनाअनुसार काम गर्न नसकेको बताए । यद्यपि, सरकार पूर्णरुपमा असफल भने नभएको उनको दाबी छ ।

साथै, फरक प्रसंगमा उनले कांग्रेसमा संस्थापन पक्षले शेखर कोइराला र गगन थापा समूहका नेताहरुलाई खोजी–खोजी अनुशासनको कारबाही गरेको बताए । पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर कारबाहीको डन्डा चलाएको उनले बताए । पार्टीका २३ नेताहरुमाथि भएको अनुशासनको कारबाही फिर्ता हुनुपर्ने उनले बताए ।

‘पार्टीको केही महत्वपूर्ण जिम्मेवारीमा रहेका साथीभाइहरुलाई बहुमतको बलबाहुमा कारबाही गर्ने काम भयो । त्यसका प्रति हाम्रो गम्भीर असहमति छ । पार्टीभित्र आफ्नालाई चोख्याउने, आफूसँग असहमत हुने, विचारमा, सिद्धान्तमा, हिजोको निर्वाचनमा अथवा पार्टीका आन्तरिक प्रतिस्पर्धामा असहमति राख्ने साथीहरुलाई किनारा लगाउने षड्यन्त्र भएको छ,’ उनले भने, उनले भने, ‘शेखर कोइराला, गगन थापा समूहका नेताहरुलाई खोजी–खोजी कारबाही गर्ने, त्यही प्रकृतिका आफ्ना समूहका नेताहरुलाई कारबाही नगर्ने काम भएपछि हाम्रो त्यसमा गम्भीर ध्यानाकर्षण भएको छ ।’