बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचार र कुशासनमा ओली सरकारले पिएचडी गरेको छ : माओवादी सांसद राजन दाहाल (भिडिओसहित)


काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकारलाई पूर्ण रुपमा असफल सरकारको संज्ञा दएका छन् । उनले भने,‘ओली शासनको एक वर्ष पूरा हुँदैछ । यो सरकारको धरातल विचौलियाको दबाब र प्रभावमा बनेको सरकार हो भनेर हाम्रो अध्यक्ष प्रचण्डले संसद्को रोष्ट्रममै उभिएर भन्नुभएको थियो । मूलतः यसले भ्रष्ट, विचौलिया र माफियाहरुको सेवा गर्छ, माफियाप्रति उत्तरदायी हुन्छ । यो कुरा सुरकै दिनमा भनेका थियौं ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘वर्तमान सरकारको एक वर्षको समिक्षा’ विशेष साक्षात्कारमा बोल्दै उनले ओली सरकारको एक वर्षको समिक्षा गर्दै यसले बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचार र कुशासनमा पिएचडी गरेको टिप्पणी गरे । उनले भने,‘यो सरकारको एक वर्ष पूरा हुँदा बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचार र कुशासनमा ओली सरकारले पिएचडी गरेको छ । त्योबाहेक राष्ट्र र जनतालाई हितमा राखेर एउटापनि काम गरेको छैन । अंकगणितको हिसाबले यो सरकार छ, कानूनी हिसाबले पनि सरकार छ । तर, जनताको नजरमा सरकार छैन । ढलिसकेको छ । विकास निर्माणमा सरकार छैन । सार्वजनिक सेवा प्रवाहमा सरकार छैन् । अन्तर्राष्ट्रिय जगतमा सरकार छैन । सरकार कहाँ छ त ? प्रतिनिधिसभामा छ । मन्त्रालयमा छन् । यो सरकारको मुख्य प्राथमिकता भनेको काम होईन, कमिशन हो ।’

उनले वर्तमान सरकारले एक वर्षमा अरबौं कमिशन जुटाएको आरोप लगाए । उनले भने,‘गैरकानूनी राजनीतिक नियुक्ती, सरुवा तथा बढुवा, आयोजना बेच्ने र कमिशन उठाउनेबाहेक अरु कुनै पनि काम यो सरकारले गरेको छैन् । उहाँले एक वर्षमा करिब ६ खर्ब ऋण बढाउनुभएको छ । एक खर्बपनि विकास बजेट खर्च गरिएको छैन, अहिले असारे विकास पनि कमिशनलाई केन्द्रमा राखेर खर्च गरिएको छ । यो सरकार पूर्णतः असफल भएको छ ।’

उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा हजारौं भ्रष्ट जेलमा भएको पनि अहिलेको ओली सरकारले उल्टै भ्रष्टहरुको रक्षा गरेको आरोप लगाए । उनले भने,‘पछिल्लो समय नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टि–स्टेट प्रकरणमा अन्तिम समयमा जेल जानुपर्ने परिस्थिति बनेपछि यो रातारात बनेको सरकार हो । जसले बेचन झाको बयान नलिईकन जेल पठाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको फाईल अघि बढेको छैन् । गिरिबन्धुको फाईल खुलेको छैन् । प्रचण्डको पालामा २५ वटा फाईल खोलिएका थिए । बालमन्दिरदेखि बाँसबारी जाला जुत्ता प्रकरणमा मुद्दा नचल्ने निर्णय गराईयो । त्रिवि जग्गा प्रकरणको प्रतिवेदन हराईयो । कुलमानको गैरकानूनी बर्खास्त गरियो । राजकीय संरचनाको चरम दलीय दुरुपयोग गरिएको छ । अरबौं भ्रष्टाचारमा जोडिएकाहरु सजिलै धरौटीमा छुटेका छन् । अहिले नयाँ बजेट निर्माणमा पनि पूर्णतः असफल देखियो । योजना छनौट पनि गर्न सकिएको छैन ।’

उनले ओलीको शासन प्रतिगामी रहेकोले यसले राष्ट्रिय आवश्यकत्ताको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे । उनले थपे,‘यो सरकार एक वर्षसम्म टिकेको छ, तर बिक्न सकेको छैन । टिक्नु नै सफलता हो । भ्रष्ट, दलाल, भूमाफियाको बाहेक यसले जनताको सेवा गरेको छैन् ।’ उनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले खुलेको भूमिका र २ बुँदे सहमतिको बचाउ गरे । यस्तै, संघीय निजामती सेवासम्बन्धी विद्येयकमा ‘कुलिङ पिरियड’ मा भएको छेडखानीको विषयमा पनि आफूहरुले कुनै सम्झौता नगरेको दाहालको स्पष्टोक्ति थियो ।

उनले वर्तमान सरकारले नै संस्थागत भ्रष्टाचारको नेतृत्व गरेकोले यसमा सहभागी मन्त्रीहरुले घुस डिल गरेको प्रमाण बाहिरिनु अनौठो नभएको प्रतिक्रिया दिए । उनले भने,‘ओलीजीको सरकार संस्थागत भ्रष्टाचारको नेतृत्व गर्छ । यो सरकारका मन्त्रीहरुले घुस खानुलाई मैले अनौठो मानेको छैन ।’

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किँदा वामपन्थी एकताको लागि सकारात्मक वातावरण बन्नसक्ने औंल्याए । तर, अहिले एमाले केपी ओलीले अपहरण गरेर बन्धक बनाएकोले तत्काल वामपन्थी एकताको सम्भावना नभएको उनको जिकिर छ । उनले भने,‘एमालेलाई केपी ओलीले अपहरण गरेर बन्धक बनाउनुभएको छ । एमाले ओलीको अपहरणबाट मुक्त नभईकन वामपन्थीहरुबीच एकता असम्भव छ । एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन् । बरु संविधानको रक्षा र यसको कार्यान्वयनको लागि एमालेभन्दा कांग्रेस नै सापेक्षित प्रगतिशील छ।’