जबज नेपाली माटोमा हुर्किएको मौलिक सिद्धान्त हो, यसको अन्तर्राष्ट्रियस्तरमा पनि तुलनात्मक अध्ययन हुन जरुरी छः विद्या भण्डारी


काठमाडौं, २८ असार । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) कि नेतृ विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को अन्तर्राष्ट्रियस्तरमा पनि तुलनात्मक रुपमा अध्ययन हुन जरुरी रहेको बताएकी छन्् । मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबज नेपाली माटोमा हुर्किएको मौलिक सिद्धान्त र विचार रहेको बताईन् । उनल नेपालका शैक्षिक संस्थाहरुमा र अन्तर्राष्ट्रियस्तरमा समेत यसको अध्यन, अनुसन्धान र छलफल हुन आवश्यक रहेको बताईन् ।

‘जबज नेपाली माटोमा हुर्किएको आफ्नो मौलिक सिद्धान्त र विचार हो । यो सिद्धान्तमाथि नेपालमा रहेका उच्च शैक्षिक संस्थाहरुमा गहन अध्ययन, अनुसन्धान र छलफल हुन आवश्यक छ । साथै यस्ता विचारहरुको अन्तर्राष्ट्रियस्तरमा पनि तुलनात्मक रुपमा अध्ययन, अनुसन्धान हुनुपर्दछ । किन भने समाज रुपान्तरणका लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’– उनले भनिन् ।

जबजले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थिति अनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुद बनाउने दिशामा समेत थप योगदान गर्ने उनले विश्वास व्यक्त गरिन् । एमाले नेतृ भण्डारीले ‘जबज’ सामाजिक–आर्थिक रुपान्तरणको बृहत्तर सिद्धान्तको रुपमा चित्रण गरिन् ।

जबजले मार्क्सवाद, लेलिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै यहाँको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्ग निर्माण गरेको उनले बताईन् ।