बागलुङ, असार २९ । बागलुङको जैमिनी नगरपालिका–४ का डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो ।
भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन । खेतमा कालुङखोला पसेपछि खेत बगरमा पणित भएको उनको भनाइ छ । २४ असारको राति कालुङखोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको सार्कीको भनाइ छ ।
सार्कीको मात्र होइन, कालुङखोला र ठेउलेखोलाको क्षेत्र नगरपालिका-१०, ९ र ४ मा रहेको भर्खर धान लगाइएको खेत बगर बनेको हो । जैमिनी नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति जैमिनी नगरपालिका–९, पैयुथन्थापमा भएको छ ।
पैयुथन्थापमा मात्र एक सय ५० रोपनी धानखेत बगर बनेको जैमिनी नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार अहिले नगरपालिकाको कृषि प्राविधिक, इञ्जिनियर र जनप्रतिनिधिको सक्रियतामा तथ्यांक संकलन भएको छ ।
उनले नगरपालिकाभर तीन सय रोपनी धान लगाइएको खेत बाढीले क्षति पुर्याएको अनुमान गरिएको बताउँदै अहिलेसम्म एक सय ५० रोपनी धानखेतको क्षति भएको तथ्यांक संकलन गरिएको छ । अहिले जैमिनी नगरपालिका–९ मा मात्र एक सय ५० रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको र ५० रोपनी जग्गा पुनः खेतमा फर्काउनै नसक्ने गरी नदीले कटान गरेको सापकोटाले बताए ।
अविरल वर्षाका कारण २४ असारको राति आएको बाढीले जैमिनी नगरपालिकाको कालुङखोला र ठेउलेखोला आसपासको धानखेत बगरमा परिणत गरेको र एक अर्बभन्दा बढीको क्षति पुर्याएको हो । कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ ।
एउटा जलविद्युत्गृह बगाएको, झण्डै तीन सय रोपनी खेतमा क्षति पुर्याएको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्याएको जैमिनी नगरपालिकाले जनाएको छ । जलविद्युत् आयोजना बाढीले बगाउँदा पैयुथन्थापका एक सय २२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । जैमिनी नगरपालिकाले क्षतिको विवरण संकलन गरिरहेको बताउँदै क्षतिको मूल्यांकनका आधारमा राहत दिने नगरप्रमुख नरबहादुर पुनले जानकारी दिए ।
‘तत्कालका लागि धान रोप्न लाग्ने लागत किसानलाई दिनेगरी नगरपालिकाले तयारी गरेको छ, रोपनीका हिसाबले किसानलाई राहत दिने, कुलो मर्मत गर्ने कार्य तत्कालै गर्दछौँ,’ नगरप्रमुख पुनले भने, ‘किसानको खेतको क्षतिपूर्ति दिन त नगरपालिकाले नसक्ला तर यसपटक धान उब्जनीमा हुने गिरावटलाई ध्यानमा राखेर राहत दिने तयारीमा छौँ, सिँचाइ कुलो मर्मतमा नगरपालिकाको ध्यान जान्छ ।’ रासस




प्रतिक्रिया