सदनमा दुई तिहाइ बहुमतको सुनिश्चितता नभई संविधान संशोधनको प्रस्ताव अगाडि बढाउन सकिँदैनः एमाले नेता गौतम


काठमाडौं, २९ असार । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संघीय संसद्को दुवै सदनमा दुई तिहाइ बहुमतको सुनिश्चितता नभई संविधान संशोधनको प्रस्ताव टेबुल नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पहिला प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई तिहाइ बहुमतको सुनिश्चितता हुन आवश्यक रहेको बताएका हुन् ।

‘जबसम्म गठबन्धनको संसद्को दुवै सदनमा दुई तिहाइ बहुमतको न्यूनतम् ग्यारेन्टी हुँदैन, त्यतिबेलासम्म संविधान संशोधनको प्रश्न टेवुल हुँदैन । यो कुरालाई हेक्का राख्न जरुरी छ । प्रधानमन्त्रीले चाहेर या अर्को कसैले चाहेर त्यो हुने कुरा होइन । संविधान संशोधनको न्यूनतम आधार दुई तिहाइको वातावरण तयार गर्नुपर्यो राजनीतिक रुपमा,’– उनले भने ।

अहिलेको वर्तमान चुनौतिहरुको जगमा टेकेर हेर्दाखेरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल रहेको उनले बताए । उनले मुलुकमा अस्थिरता अराजकता रोकिएको, अर्थतन्त्र सही ट्रयाकमा आएको, सुशासनको प्रक्रियामा सरकारले पाइला चालेको, केही महत्वपूर्ण कारबाहीहरु अगाडि बढेको र जनतामा आशा जागेको उनले बताए । उनले सरकार सफल हुने दिशामा निरन्तर अगाडि बढिरहेको उनको दाबी छ । File Photo/RN