काठमाडौं, २९ असार । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको एक वर्षको उपलब्धि संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश रहेको बताएका छन् । पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरूको समाधान हुन नसक्ने कुरा व्यवहारमा प्रमाणित भइसकेको उनले बताएका छन् ।
साथै, उनले तेस्रो ठूलो दलका एकल सुप्रिमो (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको बताएका छन् । यस्तो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै रहेको उनले बताएका छन् । आगामी दिनको राजनीतिक विमर्श अब त्यता सोझिनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया