निर्वाचन आयोगबाट धवलशमशेरको प्रष्टीकरण : पार्टी फुट्दैन, तर हैकमवाद स्विकार गर्दैनौं


काठमाडौं, २९ असार । राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टीको हैकमवाद नस्विकार्ने बताएका छ्न । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगमा आउनुपरेको समेत प्रष्टीकरण दिएका छन् । उनले पार्टी भने फुटाउन नदिनेसमेत स्पष्ट पारेका छन् ।

नवराज सुवेदीलगायतलाई अध्यक्ष लिङ्देनले हटाएपछि सुवेदी आज न्यायको लागि निर्वाचन आयोग पुगेका थिए । सुवेदीसँगै निर्वाचन आयोगमा उजुरी दिन पुगेका महामन्त्री राणाले अध्यक्ष लिङ्देनको हैकमवाद स्विकार नगर्ने चेतावनी दिएका हुन् । आफूले अहिलेको समस्याको हल सहमतिबाट खोज्न खोजेको भएपनि परिस्थिति त्यस्तो बन्न नसकेको उनको भनाई छ ।

उनले भने,‘हामी निर्वाचन आयोगमा समेत आउनुपर्ने परिस्थिति बन्यो । लामो समयदेखि पार्टीमा योगदान गरेका मान्छेहरूलाई पार्टीबाट निकाल्ने, कसैले सानो विषयमा उहाँको बारेमा लेखिदियो भने त्यसलाई पदबाट हटाइदिने, हुँदाहुँदा अनुशासन आयोगको अध्यक्षलाई समेत हटाएर अर्को मान्छे राख्ने ?’ file photo