मन्त्रीको घुस काण्डबारे किरातीको टिप्पणीः सुशासनको लागि भन्दै बनेको सरकारको छातिमा फेरि कुशासनको तक्मा थपियो


काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले स्पेनमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको नाममा भएको मानव तस्करी छानविनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको बताए । उनले उक्त विषयमा सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीको माग गरे ।

साथै, उनले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको प्रसंग जोड्दै उनले सुशासनको लागि भन्दै बनेको सरकारको छातिमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् । उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताए ।

‘सामान्य प्रशासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रो संग स्मरण छ यही उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा ‘म भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न ।’ ‘यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु।’
हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन । त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसदलाई सत्य तथ्य जवाफ चाहियो,’– उनले भने ।