काठमाडौँ, २९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषा मात्रै नभई मातृभाषालाई माया गर्ने साझा कवि भएको बताएका छन् ।
आज २१२औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानले शीतल निवासमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपतिले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आफ्नो मातृभाषामा साहित्य सिर्जना गरी नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बगैँचाका रूपमा सिँगार्न सक्नुपर्नेमा जोड दिए ।
भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्बित गर्न उनले आग्रह गरे ।
राष्ट्रपति पौडेलले भने, “भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नुपर्छ, त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सकिन्छ ।” उनले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपाली र नेपाललाई बुझ्न चाहने विश्वका मानिसले जीवनमा कम्तीमा एकपटक भ्रमण गर्नैपर्ने ठाउँका रुपमा विकास गर्न आवश्यक रहेको बताए । यसबाट उक्त स्थानको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिदैँ नेपालका सातवटै प्रदेशका प्रमुख सांस्कृतिक केन्द्रलाई प्रतिविम्बित गरी त्यसलाई सप्तधामका रूपमा अघि बढाउन आग्रह गरे ।
राष्ट्रपति पौडेलले भानुभक्तको युगमा नेपाली राष्ट्रियताको जग बस्दै गरेको र राष्ट्रनिर्माणको अभियानमा नेपाली योद्धाहरू पूर्वमा टिस्टा नदीसम्म र पश्चिममा काँगडासम्म पुगेको बताए । तत्कालीन समयमा राज्यको नीति लोककल्याणतर्फ उन्मुख नभएको उनको भनाइ थियो ।
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले जस्तो सञ्चार र सूचनाको प्रभावकारी माध्यम नभएका समयमा रामायणले नेपाली भाषीबीचमा एकता कायम गर्न ठूलो योगदान गरेको र उक्त योगदान आदिकविको भएको बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले सबै भाषाभाषीका अग्रजहरुलाई समेट्ने गरी तनहुँमा अघि बढाइएको उद्यानजस्तै प्रज्ञा–प्रतिष्ठानभित्र त्यसप्रकारको अवधारणामा काम सुरु गर्ने लक्ष्य लिइएको बताए । त्यसका लागि स्रोत व्यवस्थापनको काम गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले आदिकविले लोकको हित गरुँ भनी गरेको रचना अहिलेको लोककल्याणकारी राज्यको आदर्शसँग मिल्दोजुल्दो रहेको बताए । त्यस अवसरमा डा नवराज लम्साल र धीरेन्द्र प्रेमर्षिलगायत १० जना कविहरुले भानुभक्त आचार्य र रामायाणसँग सम्बन्धित विषयमा कविता वाचन गरेका थिए । रासस/file photo




प्रतिक्रिया