मन्त्री गुप्ताले बेइमानी गरेका रहेछन् भने राजीनामाले पुग्दैन, दण्ड नै हुनुपर्छः एमाले नेता पोखरेल


काठमाडौं, ३० असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेको आरो एमालेविरोधी षड्यन्त्रकारीहरुले तयार पारेको विषयवस्तु् रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । ‘एमालेविरोधी षड्यन्त्रकारीहरुले अनेकन विषयवस्तु तयार गर्न सक्छन् । त्यसमा मेरो केही भन्नु छैन,’– उनले भने ।

उनले मन्त्री गुप्ताले बेइमानी गरेको पुष्टि भएको खण्डमा राजीनामाले मात्रै नपुग्ने र उनलाई दण्ड नै हुनुपर्ने बताए । ‘राजकुमार गुप्ताले बेइमानी गरेको रहेछ भने के को राजीनामा उहाँलाई दण्ड नै हुन्छ नि । एमालेले जति बेठीक गर्ने नेताहरुलाई कारबाही गरेको कुन चाहिँ पार्टी छ नेपालमा ? विचौलियाहरुले चलाएको, एमालेविरोधीहरुले चलाएको हङ्गामा हो,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन गएकाहरु सबै फर्किएको दाबी गरे । ‘स्पेनको कार्यक्रममा विश्वभरीबाट हजारौं मान्छे गए होलान् । नेपालबाट पनि विभिन्न एनजीओ, आईएनजीओ र सामाजिक संघ संस्थाबाट प्रतिनिधित्व गरे होलान् । स्पेनमा भएको संयुक्त राष्ट्र संघको सिङ्गो कार्यक्रमको जिम्मा एमालेले लिने हो ? प्रधानमन्त्रीको टिममा भएको मान्छे को फर्किएन ? त्यसको चाहिँ नाम भन्नुस् न ?’ प्रश्न गर्र्दै उनले भने ।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नै भिजिट भिसामा मान्छे पठाउने गरेको तथ्य सार्वजनिक भइरहेको उनले बताए । रास्वपाले जनतामा भ्रम सिर्जना गरेको, एमालेविरुद्ध घेराबन्दी गरेको, मुलुकलाई स्थिरत हुन नदिएको र सुशासनका कुनै पनि प्रक्रियालाई अगाडि बढ्न नदिने षड्यन्त्र गरिराखेको उनले बताए ।