काठमाडौं, ३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अहिलेको सरकारमा एकसे एक उत्कृष्ट मन्त्रीहरु रहेको बताएका छन् । उनले कांग्रेस–एमालेको वर्तमान सरकारलाई असफल भन्नु प्रतिपक्षी दलहरुको धर्म भएको र उनीहरुले त्यो धर्म निर्वाह गरेको टिप्पणी गरे ।
प्राइम टिभीबाट हिजो (आइतबार) राति प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री गुप्ताले वर्तमान सरकार अत्यन्तै सफल रहेको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली अझै एक वर्ष सरकारको नेतृत्वमा रहने र त्यो अवधिमा सरकार अझै सफल हुने दाबी गरे ।
उनले अहिलेको सरकार कुनैपनि हालतमा नटुट्ने ठोकुवा गरे । उनले यो गठबन्धनको सरकार ०८४ को आम निर्वाचनसम्म लैजाने विश्वास दिलाए । उनले सरकार जनताको काममा केन्द्रित भएर लागिपरेको बताए । उनले भने,‘यो सरकार जनताको काममा लागेको छ, यो सरकारका सबै मन्त्रीजीहरु रातदिन जनताको काममा लागेका छौं, जनतालाई कसरी चाँडै डेलिभरी दिने भन्ने सोचमा हामी लागेका छौं ।’ उनले सरकारको एक वर्षको अवधिमा सबै राम्रो भएको दाबी गरे । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण चाँडै हुने विश्वास दिलाए ।




प्रतिक्रिया