काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले सरकारमा रहेका राजनीतिक दलसँग कुनै पनि सौदाबाजी नगरिएको दाबी गरेका छन् । माओवादीले भ्रष्टाचार र अनियमितताको विरुद्धमा र सुशासन र सामाजिक न्यायको पक्षमा माओवादीले सरकारमा हुँदा पनि काम गर्ने र प्रतिपक्षमा हुँदा पनि आवाज उठाउने काम गरिरहेको उनले बताए ।
साथै, उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरण आफूहरुले सशक्त रुपमा आवाज उठाइरहेको पनि उनले बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने,‘मन्त्रीहरुको यो घुस डिलिङ केसमा हिजो संसद्मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट जति जनाले बोल्यौं, चाहे त्यो शून्य समय, आकस्मिक समयमा र विशेष समयमा ज–जसले बोल्यौं, सबैले त्यो विषयमा बोलेकै छौं । हामीले बोलिराखेका छौं । यो अनुचित भयो । सुशासनको नारा अलाप्ने सरकारको गर्ने काम उल्टो भयो । जसको कारणले गर्दाखेरी देश विदेशमा पनि राम्रो छवि बनेन सरकारको । सुशासनको कुरा त परै जाओस् राजनीतिक स्थिरतामा पनि आशंकका पैदा भयो ।’
साथै, उनले फरक प्रसंगमा माओवादीले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग कुनै पनि प्रकारको लेनदेन नगरेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षले सदन अवरोध गरेको आरोप लगाउँदै अधिवेशन नै अन्त्य गर्ने अवस्था आएपछि दुई बुँदे सहमति गर्नुपरेको उनले बताए ।
‘केपी ओली शर्मालाई त हामीले चिनेकै छौं । त्यसैको बहानाबाजी गरेर संसद् चल्न नदिने, संसद्को अन्त्य गरेर चुपचापसँग बस्ने, अध्यादेशमार्फत आफ्नो अनुकूलतामा कानुन ल्याउने हामीले देखेपछि त्यो हुन नदिन सहमति गरेका हौं । मान्छेहरुले नबुझेर भनिराखेको छन् । लेनदेन भन्ने कुरालाई हाइलाइट गरेर नेकपा (माओवादी केन्द्र) ले गरेको कामलाई भ्रमित गर्ने काम भइरहेको छ,’ उनले भने ।




प्रतिक्रिया