प्रधानमन्त्री ओलीलाई राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ हौ तपाईंको सुशासन आयोग ?


काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ ? भनेर प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै लिङ्देनले आज देश र जनताले सुशासन आयोग खोजिरहेको बताएका हुन् ।

उनले भने,‘कहाँ छ हौ, यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज देश र जनताले खोजिरहेका छन्, मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्यहरु सार्वजनिक भैरहेको छ । यदि नैकिता छ भने र सुशासनप्रति अलिकति पनि प्रतिबद्धता छ भने यी मन्त्रीहरुको राजीनामा आउनुपर्ने हो कि होईन ? यी मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने हो कि होईन ?’

उनले दुई ठूला दल मिलेर सरकारमा बसेर मिलेर देश लुट्ने काम गरेको आरोप लगाए । उनले अब यो कुरा कदापि सह्य नहुने भन्दै आवश्यक परे सडकबाट पनि प्रतिवाद गरिने चेतावनी दिए ।

उनले भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले विगत ४५ दिनदेखि सदनमा अवरोध गरिरहेको भएपनि सभामुखले राम्रो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । लिङ्देनले भने,संसदका दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइरहेको छ । यो केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र होइन, तपाईँको कार्यकालको सबैभन्दा कालो समय हो । सभामुखले प्रयास र पहल गर्नुपर्‍यो । प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्‍यो ।’