कांग्रेस–एमाले संसद्लाई विचौलियाको खेल मैदान बनाएको प्रचण्डको आरोप (भिडिओसहित)


काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे ।

‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपनाअनुसार अघि बढिरहेका छौं ?’ प्रश्न गर्दै प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको, र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको बताए ।

संसद र संसदीय समितिमा भैरहेका भूमिकाप्रतिसमेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको बताए ।

अध्यक्ष प्रचण्डले दुई ठूला दलहरूको मिलोमतोले संसद्लाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे ।

उनले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै, यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विष्पोटक बन्न सक्ने चेतावनी दिए ।

‘आज सर्वत्र व्यप्त भ्रष्टाचार, अराजकता र बेथितिले देश परिवर्तन र सपनाको ठीक उल्टो दिशातर्फ अगाडि बढेको देखिन्छ । गम्भीर समीक्षासहित सच्चिनका लागि कठोर निर्णय गर्नतिर नलाग्ने हो भने निकै ठूलो विष्पोटतिर देश जाने अवस्था छ,’– उनले भने ।