घुस काण्डमा मुछिएका मन्त्रीहरुको विरुद्धमा प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्छ, पार्टीले ध्यानाकर्षण गराइसकेको छः एमाले नेता गौतम


काठमाडौं, ३० असार । नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अस्थिरताको न्यूनीकरण गर्न सरकार सफल भएको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित सरकारको एक वर्षे समीक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जटिलताको बाबजुद पनि सरकारले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको उनले बताए । साथै, अर्थतन्त्र पनि सुधारोन्मुख रहेको उनले बताए । उनले वर्तमान सरकारले नीजी क्षेत्रलाई विश्वासमा लिएको, दायित्व भुक्तानीमा बृद्धि गरेको, आर्थिक वृद्धिदर गत वर्ष ३.८७ प्रतिशत रहेकोमा अहिले ४.६१ प्रतिशत पुगेको बताए । अपेक्षित विस्तार नभए पनि सुधार भने उल्लेख्य रहेको उनले बताए ।

साथै, प्रतिनिधिसभा र राष्ट्रय सभामा कांग्रेस–एमालेसहितको गठबन्धनको दुई तिहाइ बहुमतको अवस्था सिर्जना नभइ संविधान संशोधनको विषय अगाडि नबढ्ने उनले बताए । संसद्मा सरकारको दुई तिहाइ बहुमत पुगेको दिन राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधनको विषय अगाडि बढाइने उनले बताए ।

‘संविधान संशोधनको प्रसंग र अहिलेको संवैधानिक प्रक्रियालाई हामीले हेर्न जरुरी छ । कानुनी र संवैधानिक प्रक्रिया के छ भन्दाखेरी संविधान संशोधनको विषयलाई अगाडि बढाउनका निम्ति अहिलेको गठबन्धनसँग संसद्मा दुई तिहाइ बहुमत चाहिन्छ,’– उनले भने ।
साथै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एक्सन लिने उनले बताए । आफूहरुले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको र प्रधानमन्त्री ओलीले पनि मन्त्री गुप्तासँग भेटेर कुरा गरिसकेको उनले बताए ।

‘आज सुशासनको मुद्दा ओझेलमा पर्ने र मन्त्रीहरु नै भ्रष्टाचारको बार्गेनिङमा अडिओहरु नै सार्वजनिक हुने खालको परिस्थिति बन्यो । त्यसका निम्ति हाम्रो पार्टी गम्भीर छ । पार्टीले यसको बारेमा गम्भीरतापूर्व सूचना राखेर पार्टी प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराइसकेको छ । मलाई लाग्छ प्रधानमन्त्रीजीले पनि मन्त्रीलाई राखेर कुरा गरिसक्नु भएको छ । सरकारको यो मिसनमा काम गर्न नसक्ने, नेपालको संविधान, ऐन, कानुन र दिएको संस्थाको पनि गरिमा राख्न नसक्ने साथीहरुलाई प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्ने परिस्थिति छ । त्यो हामीलाई अनुभूति भइराखेको छ, प्रधानमन्त्री त्यो दिशामा जानुहुन्छ,’– उनले भने ।