काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले सरकारको काम कारबाहीलाई लिएर नेपाली जनताले सन्तोष मान्ने अवस्था नरहेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित सरकारको एक वर्षे समीक्षा विषयक साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारप्रति जनताको असंख्य प्रश्नहरु रहेको र यो सरकार नेपाली जनताको हक र हितमा नरहेको बताएका हुन् ।
‘नेपाली जनतालाई उहाँहरुले सन्तोषजनक ढंगले सरकार सञ्चालन गर्न सक्ने अवस्थामा उहाँहरु हुनुहुन्न । उहाँहरुको बीचमा थुप्रै अन्तरविरोधहरु छन् । उहाँहरु जबरजस्त रुपमा सरकार चलाइराख्नुभएको छ । नेपाली जनताको हक हितमा यो सरकार छैन,’– उनले भने ।
कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले वर्तमान संविधानलाई आत्मसाथ गर्न नसकेको उनको दाबी छ । ‘उहाँहरुले संविधानलाई आत्मासात गर्न सक्नुभएको छैन । सातै वटा प्रदेश सरकारको बजेट, नीति तथा कार्यक्रम र संघको बजेट, नीति कार्यक्रम हेर्दाखेरी उहाँहरुले संघीयता र समाजमा नेपालको संविधानले सम्बोधन गर्नुपर्ने वर्ग, जाति र क्षेत्रलाई सम्बोधन गर्ने बजेट ल्याउन सक्नुभएन,’– उनले भने ।
किसानहरुको मल विउका प्रश्न, विपदको प्रश्नलगायतका विषयमा सरकार गम्भीर नरहेको उनले बताए । हिजो चल्दै आएको जसरी सरकार चलाउन पनि कांग्रेस–एमालेलाई कठिन भइसकेको उनको भनाइ छ । ‘हिजो जसरी चल्दै आएको थियो, त्यसरी चलाउन पनि उहाँहरुलाई कठिन भइसकेको स्थिति छ । गठबन्धन सरकारको यो एक वर्षबाट जनता सन्तुष्ट छैनन्,’– उनले भने ।
वर्तमान सरकार जनताको दैनिक जीविका, महँगी नियन्त्रणको प्रश्न, डेलिभरीलगायतको विषयमा दिनप्रतिदिन झनझन खस्किँदै गएको उनले बताए ।




प्रतिक्रिया