अनुशासनको कारबाहीमा गगनको आपत्ति, पार्टी थप कमजोर हुने चिन्ता


काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र भएको अनुशासनको कारबाही सबै हिसाबले गलत रहेको बताएका छन् । नेपाली कांग्रेसको बुद्धिजिवी विभागले आज (सोमबार) आयोजना गरेको विपद् व्यवस्थापन स् चूनौति, अवसर र भावी कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै थापाले अनुशासनको कारबाही समय, पार्टीको परम्परा, कानुन र विधानको हिसाबले गलत रहेको बताए ।

‘पार्टीभित्र कोत पर्वजस्तै अनुशासन पर्व चल्यो । न यो समयको हिसाबले ठिक भयो, न यो पार्टीको परम्पराको हिसाबले ठीक छ । न पार्टीको कानुनको हिसाबले ठीक छ । न पार्टीको विधानको हिसाबले ठीक छ । यो खालको कामले पार्टीलाई थप कमजोर बनाउँछ,’– उनले भने ।

नेपाली कांग्रेसको अनुशासन समितिले केही दिनअघि पार्टीका २३ जना नेतालाई अनुशासनको कारबाही गरेको थियो । जसमा प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसमेत कारबाहीमा परेका थिए । कांग्रेसको संस्थापनइत्तर समूहरुले अनुशासनको कारबाही अस्वीकार गर्ने बताउँदै आएको छ ।