काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली मुछिएको गिरीबन्धु टि स्टेट प्रकरण र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल मुछिएको पतञ्जली योग पीठ जग्गा प्रकरण एकै किसिमको मुद्दा रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली–नेपाल दुवैले भूमि ऐन २०२१ को उल्लङ्घन गरेको बताएका हुन् । उनले गिरीबन्धु ठीक, पतञ्जली जग्गा प्रकरण बेठीक भन्न नमिल्ने बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टि स्टेट । माधव नेपालको मुद्दा र केपी ओली (गिरीबन्धु) को मुद्दा एउटै हो । कमरेड केपी ओलीले पनि भूमि ऐन २०२१ को उल्लङ्घन गरेर २०७८ वैशाख १३ गते गिरीबन्धु टि स्टेट कम्पनीको ३ सय ४३ विघा जमिन विक्री वितरणको अधिकार दिनुभयो । माधव कमरेडले पनि भूमि ऐन २०२१ उल्लङ्घन गर्नुभयो । गिरीबन्धु टि स्टेट ठीक, पतञ्जली बेठीक हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
यो एक वर्षमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले राजकीय संरचनाको चरम दलीयकरण र दुरुपयोग भएको, आफ्नोलाई काख, अरुलाई पाख गरेको, अदालत र अख्तियारलाई दवाब र प्रभावमा राखेको आरोप लगाए । ‘अदालत र अख्तियारलाई दवाब र प्रभावमा राख्नुभएको छ । कानुनको धज्जी उडाउनुभएको छ । अलोकतान्त्रिक शासनको पराकाष्ट हो अहिलेको सरकार,’– उनले भने ।
साथै, उनले वर्तमान सरकारको एक वर्षको उपलब्धी विचौलियाहरु जेल जान नपरेको बताए । नेता दाहालले जेल जानुपर्ने मान्छेहरु नै वर्तमान सरकारमा मन्त्री बनेर झण्डा हल्लाएर हिँडिरहेको उनको दाबी छ । ‘एक वर्षको सरकारको उपलब्धी जेल जान परेको छैन । त्यही हो उपलब्धी । जेल जानुपर्ने मान्छेहरु मन्त्री छन्, झण्डा हल्लाएर हिँडेका छन् । पात्र किन भन्नुपर्यो र ? नेपाली जनता जानकार नै छन्,’– उनले भने । File Photo/RN




प्रतिक्रिया