रिलायन्स–चौधरी ग्रुपको साझेदारीमा क्याम्पा कोला नेपालको बजारमा


काठमाडौँ, ३१ असार । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ ।

क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी विङ र रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो । क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपीएल जस्ता इभेन्ट स्पोन्सर गर्दै आएको छ ।

सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरेपछि रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्रान्डलाई फेरि एक पटक लोकप्रिय कोल्ड ड्रिंक ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड हो ।

“चौधरी ग्रुपजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा कोला ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं,” आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, “क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ । हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौं।”

क्याम्पा कोला गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो । अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्ने छ । यो ब्रान्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।

कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् । २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रूपैयाँ रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रूपैयाँ रहेको छ ।

रिफ्रेशिङ स्वाद, जोसिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।