काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । घुस डिलसम्बन्धी अडियो बाहिरिएपछि मन्त्री गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । मन्त्री गुप्तालाई राजीनामा दिन बालुवाटारको निर्देशन थियो ।
राजीनामाबारे आफ्नो फेशबकुमार्फत जानकारी गराएका गुप्ताले आफूले कहिल्यै नखाएको विष लागेको बताएका छन् । उनले आफूमाथि लागेको अनुसन्धान गरी सत्य, तथ्य बाहिर ल्याउन सहयोग गर्नको लागि प्रधानमन्त्रीसमक्ष राजीनामा बाुझाएको स्पष्ट पारेका छन ।
उनले फेशबुकमा लेखेका छन-
बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।




प्रतिक्रिया