काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधि र प्रक्रियाभन्दा बाहिर गएर नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट निष्काशन गरेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यक्षको स्वैच्छाचारी निर्णय आफूहरुको लागि स्वीकार्य नरहेको बताएका हुन् ।
‘पार्टीभित्र अध्यक्षले निर्णय गर्ने प्रक्रिया हुन्छ । स्वैच्छाचारी निर्णय गर्न पाइँदैन । यो कसैको व्यक्तिगत पार्टी होइन । सबैले भिलेर अध्यक्ष बनाएको हो । अध्यक्ष भनेको अभिभावक हो । अभिभावकले सबैको कुरा सुन्नुपर्छ,’– उनले भने ।
साथै, अध्यक्ष लिङ्देनले कानुन र पार्टीको विधानविपरीत काम गरेकाले आफूहरु निर्वाचन आयोगमा गएको उनले बताए । अध्यक्ष लिङ्देनले गरेको गल्ती आयोगले सच्याउने उनले विश्वास व्यक्त गरे । ‘हाम्रो विधानमा जे कुरा छ, त्यो निर्वाचन आयोगले हेर्ने हो । विधानअनुरुप निर्णय भएको छैन भने निर्वाचन आयोगले सच्याउन सक्ने कानून छ । त्यही कानुनमा टेकेर हामी गएको हो,’ उनले भने, ‘नवराज सुवेदी हाम्रो वरिष्ठ नेता, पुरानो कार्यकर्ता, नेता हुन् । उहाँ अनुशासन समितिको अध्यक्ष हो । एकाएक उहाँलाई कारबाही गर्दा राम्रो हुँदैन । कसैलाई हटाउनुभन्दा पहिला कारण दिनुपर्यो, स्पष्टीकरण माग्नुपर्यो । अनुशासन समिति भनेको स्वतन्त्र र निश्पक्ष समिति हो । त्यसको अवधि ४ वर्षको लागि हुन्छ ।’
साथै, पार्टीको समस्या आन्तरिक रुपमै समाधान गर्न चाहे पनि अध्यक्ष लिङ्देनको कारण सम्भव नभएको उनले बताए । कुनै उपाय नभएपछि मात्रै आफूहरु निर्वाचन आयोगमा गएको उनले सुनाए । सबैलाई समेटेर लानुपर्ने जिम्मा रहे पनि पार्टी अध्यक्ष लिङ्देनले स्वैच्छाचारी निर्णय गरेको उनले बताए ।




प्रतिक्रिया