समर्थन फिर्ताको घोषणा गरेका उपेन्द्र यादव आँफै सरकारमा सहभागी हुने चर्चा, उद्योग मन्त्रालय प्राथमिकतामा !


काठमाडौं, ३१ असार । सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्लाबीच जनता समाजवादी पार्टी, नेपाल सत्तारोहणको तयारीमा छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेर सरकारमा सहभागी हुनको लागि आग्रह गरेका छन् ।

हिजो (सोमबार) बालुवाटारमा जसपा नेपालका अध्यक्ष यादव र वरिष्ठ नेता राजकिशोर यादवसँग ओली र देउवाले सरकारमै सहभागी भएर सत्ता–सहकार्यको प्रस्ताव राखेका हुन् । कांग्रेस–एमालेको वर्तमान सरकारलाई जसपा नेपालले दिएको समर्थन कायमै छ । तर, यो बीचमा अध्यक्ष यादवले सरकारलाई दिईएको समर्थन फिर्ता लिने घोषणा गरेका थिए ।

यसरी घोषणा गरेको एक महिना व्यतित हुनै लाग्दापनि यादवले अहिलेसम्म यसबारेमा पार्टीको संसदीय दलबाट ठोस निर्णय लिन सकेका छैनन् । बरु, योबीचमा सरकारमा सहभागी हुनेगरि बालुवाटार र बुढानिलकण्ठसँग छलफल चलेको कुरा बाहिरियो । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा सरकारको एक वर्ष पूरा भएको सन्दर्भमा मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा जुटेका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले यादवलाई आँफै सरकारमा सहभागी हुन प्रस्ताव राखेका छन् ।

बालुवाटारको हिजो रातिको बैठकमा समेत सरकारमा सहभागी हुन भनिएको छ । तर, यादवले स्पष्ट जवाफ नदिएको बताईएको छ । उपेन्द्रले सरकारमा सहभागी हुने परिस्थिति बन्नको लागि भूमिसम्बन्धी विद्येयकलाई देखाएका छन् । ओली र देउवाले यो विद्येयक अघि बढाउने सवालमा यादवको साथ खोजेका छन् ।

यदि सरकारमा सहभागी हुने अवस्था आए यादवले राजकिशोरलाई नै पठाउने चर्चा चलेको छ । राजकिशोर अहिले प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिको भूमिकामा छन् । कतिपयले त जसपा नेपाल उद्योग मन्त्रालय लिएर सरकारमा सहभागी हुने भनेर समेत चर्चा गरेका छन् ।

उपप्रधानमन्त्रीसहितको पोर्टपोलियो लिएर अध्यक्ष यादव आँफैपनि सरकारमा सहभागी हुनसक्ने आँकलन गरिएको छ । यदि केन्द्र सरकारमा एउटा मन्त्रालय लिएर जसपा नेपालले सत्तारोहण गर्यो भने मधेश प्रदेश सरकारमा समेत महत्वपूर्ण हिस्सा लिनेछ । अहिले मधेश सरकारको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको छ ।

राउत यतिवेला रास्वपाको कित्तामा उभिएका छन् । उनले हिजोमात्रै रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । यसले पनि प्रधानमन्त्री ओली र देउवा राउतलाई मधेश सरकारबाट अलग गराउने तयारीमा जुटेका छन् । file photo