सरकारको एक वर्ष विवाद नै विवाद र प्रश्नहरुको घेरामा बितेको छ : राजन दाहाल (भिडिओसहित)


काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले अहिलेको कांग्रेस–एमालेको अहिलेको सरकारको एक वर्ष विवाद नै विवादमा बितेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिलेको सरकार विवाद नै विवादको बीचमा छ, शंका नै शंकाको घेरामा छ, प्रश्नहरुको घेरामा छ ।’ उनले हालैको बाढि/पहिरोलगायतको विपत्तिमा समेत सरकार उदासिन देखिएको आरोप लगाए ।

उनले अहिलेको सरकार लगातार विवादमा तानिएको र यसले गरेका निर्णयहरु समेत विवादित बनेको सुनाए । उनले सरकारका हरेक निर्णयहरु अपारदर्शी रहेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार जनताप्रति उत्तरदायी छैन। जवाफदेही छैन ।’ उनले सत्तापक्षले एक वर्षमा अर्थतन्त्रमा सुधार गरेको भनेको विषयमा समेत खण्डन गरे । उनले सोधे,‘अर्थतन्त्रमा सुधार गरियो भनियो, के तपाईंहरुले अर्थतन्त्रमा सुधार गरेर औद्योगिक पुजीमा वृद्धि गर्नुभयो ? तपाईंले उत्पादन र रोजगारी सिर्जना गर्नुभयो ?’