मधेश प्रदेशद्वारा वन क्षेत्र सुधार अभियान आरम्भ


महेन्द्रनगर (धनुषा), ३१ असार । मधेश प्रदेश सरकारले वन क्षेत्र सुधारको अभियान सुरु गरेको छ । वन निर्देशनालयको आयोजनामा वार्षिक तथा चौथो त्रैमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा मन्त्रालयले विभिन्न जिल्लामा सञ्चालन भएका योजनाको वार्षिक प्रगति प्रतिवेदन र समीक्षा प्रस्तुत गरिएको थियो ।

गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले पारदर्शी, जवाफदेही र जनमैत्री बन प्रशासन निर्माण गर्न सबै सरोकारवालाको साझा पहल आवश्यक रहेको बताए । उनले अब सबै जिल्लामा वनसँग सम्बन्धित राजस्व उठाउन सबैले प्रयास गर्न आवश्यक छ ।

मन्त्री यादवले भने, “जस्तोसुकै अवस्थामा पनि राज्यको समृद्धिका लागि वन संरक्षण र राजस्व वृद्धि अत्यावश्यक छ । ‘सेटिङ’ शब्दलाई वन प्रणालीबाट जरैदेखि हटाउनु जरुरी रहेको उनको भनाइ थियो ।

सो अवसरमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले वन कर्मचारीको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै वन क्षेत्रलाई कसरी राम्रो गर्ने भन्नेतर्फ लाग्न सबैमा आग्रह गरे । वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन अतिक्रमण क्षेत्रको व्यवस्थापनका लागि विशेष ध्यान दिन जरुरी रहेको बताए ।

वन निर्देशनालयका निर्देशक जगरनाथ जैसवालले आर्थिक वर्ष २०८१÷८२ मा ७८ लाख ५७ हजार ९५१ बिरुवा उत्पादन, ३८४।८३ हेक्टरमा वृक्षरोपण, १७५ हेक्टरमा रहेको अतिक्रमण हटाउन सफल र राजस्व सङ्कलन रु १२ करोड ८९ लाख ९९ हजार रहेको उनले जानकारी दिए । रासस