काठमाडौं, ३१ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई/दुई पटकको संसद् विघटनले आफूलाई पछ्याइरहने बताएकी छन् । आज (मंगलबार) मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भनिन्, ‘जहाँसम्म विगतको कुरा हो– यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकार नै छु । संसद् विघटनको कुरा । पहिलेको संसद् विघटनको कुरा पनि, २०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ । पछि ०५१ मा विघटन भएको छ । त्यो पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि संसद् विघटन भएको छ दुइचोटी । त्यो आइरहन्छ ।’
साथै, उनले आफूले कुनै दवाबमा संसद् विघटनको निर्णयलाई सदर नगरेको पनि बताईन् । संवैधानिक विधि र प्रक्रियाअनुसार मन्त्रिपरिषद्बाट निर्णय भएर आएको कुरालाई आफूले कार्यान्वयनमात्रै गरेको उनको भनाइए छ । ‘मैले त्यसलाई कुनै प्रेशर, दवाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई मैले कार्यान्वयन गरेको हो । जे व्यवस्था छ, त्यही अनुसार गरेको हो । तपाईँहरु छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको राजनीतिक, संवैधानिक पाटो, इतिहासका कुराहरु, देशलाई के गर्दाखेरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ ? त्यो कुराहरु छलफलको विषय हुनसक्छ । यसमा दवाबको कुरा जुन छ, त्यो कुरा होइन । मैले संवैधानिक विधि, व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको भन्ने कुरा चाहीँ यहाँहरुलाई म जानकारी गराउन चाहन्छु,’– उनले भनिन् ।




प्रतिक्रिया