केपी ओलीसँगको परामर्शपछि मात्रै विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गर्नुभएको होः ईश्वर पोखरेल


काठमाडौं, ३२ असार । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि मात्रै विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीसँगको परामर्शविना भण्डारी राजनीतिमा आएको भन्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका हुन् । ओली स्वयंले पार्टीका विभिन्न मिटिङहरुमा पूर्वराष्ट्रपतिलाई राजीनिमा फर्किन संविधान र पार्टीको विधानले नरोकेको बताएको उनले सुनाए ।

‘पार्टी अध्यक्षको परामर्शविना विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गर्नुभएको हो ? त्यो कल्पना गर्न सकिन्छ ? संगठन विभागले सदस्यता नवीकरण गर्छ । संगठन विभाग चेन अफ कमाण्डमा चलेको छ । संगठन विभागले त्यसै सदस्यता नवीकरण गर्दियो त ? काहीँ सोध्यो होला, बुझ्यो होला, जानकारी लियो होला । त्यसपछि सदस्यता नवीकरण गर्यो होला । हाम्रो कोही पनि नेताले त्यसो भन्नुहुन्छ (पार्टीमा सल्लाह नभइ आएको) होला भन्ने मलाई लाग्दैन । त्यो गलत हो । केपी ओली विपक्षमा हुनुहुन्छ होइन । केपी ओली नै त्यो नेता हो जसले राजनीतिमा आउनका लागि न संविधानले रोकेको छ, न पार्टीको विधानले रोकेको छ । कसैले रोक्ने काम गर्छ भने त्यो गलत हो भनेर उहाँ नै बैठकमा सबै साथीहरुलाई बताउने मान्छे हो,’– उनले भने ।

साथै, नेताहरुले पूर्वराजालाई समेत राजनीति गर्न मन भए पार्टी खोलेर आऊ भनिरहेको बेलामा पूर्वराष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किने कुरा कुनै नौलो नहुने उनले बताए । ‘पहिलाको राजा भएको मान्छेलाई राजनीति गर्ने भए दल खोलेर आउ भनेर आह्वान गर्ने, अर्कोतिर दलबाटै गएका मान्छे, त्यो अभिभारा पूरा गरेपछि राजनीतिमा फर्किन्छु भन्नुहुन्छ भने त्यसमा के अब्जेक्सन ? सबैले रामवरणकै मोडल अपनाउनुपर्ने हो र ?’ प्रश्न गर्दै उनले भने ।

साथै, विद्या भण्डारी आफ्नै विवेक प्रयोग गरेर राजनीतिमा आएको उनको दाबी छ । नेता पोखरेलले भण्डारीलाई कसैले राजनीतिमा नल्याएको उनको दाबी छ ।