काठमाडौं, ३२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले घुस प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि पनि छानविन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले घुस प्रकरणका सीनमा आएका र नआएको, आरोप लगाइएका वा नलगाइएका सबैमाथि छानविन गरिने उनले बताए ।
‘बलराम अधिकारीमाथि पनि छानबिन हुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘यो प्रकरणमा विषय वस्तु उठिसकेपछि राजकुमार गुप्तासहितको अडियो प्रकरण बाहिर आयो । अडियो प्रकरण पनि अध्ययन गर्ने कुरा हुन्छ । त्यसमा उहाँले मेरो होइन भन्नुभएको छ । हो र होइनको बारेमा अध्ययन प्रारम्भ हुन्छ । त्यसपछि कहिलेकाँही सिनमा आएका वा नआएका, बोलिएका वा नबोलिएको यसमा को–को पात्रहरु हुन्छन् । यस्तो जघन्य अपराधमा लाग्ने मान्छेहरुलाई कानुनी कारबाहीमा त जरुर ल्याउनुपर्छ । यसमा कुनै दुइमत भएको कुरा नै होइन । यदि तथ्य र प्रमाणले दोषी प्रमाणित हुन्छ भने कठोर कारकाहीको दायरामा ल्याउनै पर्छ ।’
घुस प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका थिए । उनले मालपोत कार्यालय कांस्कीका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउनका लागि २५ लाख गरी ७८ लाख घुस डिल गरेको अडियो बाहिरिएको थियो । उक्त अडियोमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको पनि नाम लिइएको छ ।




प्रतिक्रिया