काठमाडौं, ३२ असार । सरकारमा सहभागी हुन लागेको चर्चाबीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । पार्टीको कार्यकारिणी समितिको बैठकमार्फत नै जसपा नेपाल विपक्षी कित्तामा उभिने निर्णय भएको थियो । तर, संसदीय दलको बैठक राखेर यो निर्णय गराउन उपेन्द्रलाई निकै सकस भएको थियो ।
योबीचमा उनी बालुवाटार र बुढानिलकण्ठसँग निरन्तर सम्वादमा रहेको स्रोतको दाबी छ । हालैमात्र पनि उनले वरिष्ठ नेता राजकिशोर यादवलाई लिएर बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यही बैठकमा सत्ता–सहकार्यको विषयमा धेरै कुरा भएको बताईन्छ ।
यादवले पार्टीको तर्फबाट भूमि विद्येयकसम्बन्धी अडान राखेको कुरा बाहिर आएको छ । बालुवाटारको छलफल बाक्लिएकै बेलामा आज संसदीय दलको बैठक राखेर यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । यो निर्णयसँगै अब जसपा नेपालको सत्तारोहणको च्याप्टर क्लोज भएको रुपमा चर्चा गरिरहेका छन् ।
तर, यो समर्थन फिर्ताको निर्णयको प्रभावको लागि भने साउनको दोस्रो सातासम्म कुर्नुपर्ने उच्चस्रोतको दाबी छ । यादव आँफै उपप्रधानमन्त्रीसहितको पोर्टफोलियो लिएर सरकारमा सहभागी हुने चर्चा छ । प्रधानमन्त्री ओलीले साउनको दोस्रो साता नै मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् । त्यहीबेलामा यादवपनि सरकारमा सहभागी भए आश्चर्य मान्न नहुने कांग्रेस–एमालेनिकट उच्च स्रोतको दाबी छ ।
यादवले राखेको शर्तबमोजिम भूमिसम्बन्धी विद्येयकमा केही संशोधनको प्रतिबद्धताको लािग ओली र देउवा दुवै तयार रहेको बताईन्छ । यसको अलावा मधेश प्रदेशको सरकारपनि कांग्रेसले नेतृत्व लिनेगरि समझदारी बनेको छ । अहिले सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश सरकारको नेतृत्व गरेको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन् ।
तर, देउवाले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर मधेश सरकारको नेतृत्व आफ्नो पार्टीले लिने भनिसकेका छन् । राउतलाई आउट गर्दा यादवको साथ लिने देउवाको चाहना हो । मधेश सरकार फेरबदलको विषयमा पनि देउवाले यादवसँग एकचरण छलफल गरेको बताईन्छ । तर, बालुवाटारको छलफलमा भने यो विषयमा विस्तृत कुरा नभएको नेताहरुको भनाई छ ।
उपेन्द्रले वर्तमान सरकारलाई बाहिर बसेरपनि एक वर्षसम्म सघाएका हुन् । तर, एक वर्ष पुगेको अवसर पारेर उनले आज लिएको समर्थन फिर्ता कति लामो कायम रहन्छ वा नयाँ सहमति हुन्छ भनेर हेर्न कम्तिमा दुई साता कुर्नुपर्ने हुन्छ । यादवले सार्वजनिक रुपमा नै सरकारमा जाने आफूहरुको कुनै तयारी र चाहना नभएको प्रष्टीकरण दिँदै आएका छन् । file photo




प्रतिक्रिया