पूर्वमन्त्री मानबहादुर विश्वकर्मालाई ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’


काठमाडौं । दलित समुदायको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणका लागि विशेष योगदान पु¥याउने पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मा ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट सम्मानित भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रदान गरिने उक्त राष्ट्रिय पुरस्कार उनलाई एक लाख नगद र ताम्रापत्रसहित प्रदान गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्दै दलित मुक्ति आन्दोलनमा विश्वकर्माले खेलेको भूमिका ऐतिहासिक रहेको बताए। राणाशासन कालदेखि दलित मुक्तिको आन्दोलनमा होमिएका भगत सर्वजित र प्राध्यापक विश्वकर्माको योगदानको सम्मानस्वरूप २०७२ सालदेखि स्थापित यस पुरस्कारले सामाजिक परिवर्तनमा योगदान दिने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ।

वि।सं। २०३४ सालदेखि शिक्षा क्षेत्रमा क्रियाशील विश्वकर्माले अमृत साइन्स क्याम्पस, काठमाडौं विश्वविद्यालयलगायत शिक्षण संस्थामा योगदान दिएका थिए। उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघका संस्थापक सभापति समेत हुन्। चार कार्यकालसम्म कांग्रेसको केन्द्रीय सदस्य रहँदै उनले पार्टीभित्र दलित आरक्षण प्रणालीको थालनी गरेका थिए । एमबीबीएस, इन्जिनियरिङजस्ता उच्च शिक्षामा दलित छात्रवृत्ति कार्यक्रम ल्याउन सफल उनले निजामती सेवामा ९ प्रतिशत आरक्षण सुनिश्चित गराएका थिए ।

उनको पहलमा हाल सयौं दलितहरू उच्च प्रशासनिक तहसम्म पुग्न सफल भएका छन्। प्राध्यापक विश्वकर्माको नेतृत्वमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै राज्यसंरचनामा समावेशीकरणका लागि नीति निर्माण, आरक्षण व्यवस्था र क्षमता विकासका महत्वपूर्ण अभियानहरू सशक्त रूपमा अघि बढाइएका थिए। यही योगदानका कारण उनलाई यो प्रतिष्ठित राष्ट्रिय पुरस्कारले सम्मान गरिएको हो।