काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रभु हजराले उपप्रधानमन्त्रीसहित मन्त्रालयको भाग बन्डा नमिलेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपेन्द्र यादवबीच गत सोमबार भएको भेटमा सरकारमा जानेबारे छलफल भएको र सो क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित सहरी विकास वा स्वाथ्य मन्त्रालय मागेको उनले बताए ।
‘मधेश प्रदेशमा मुख्यमन्त्रीको सवालहरु छ । केन्द्रीय सरकारमा स्वाथ्य वा सहरी विकास, नेपाली कांग्रेससँग रहेको मन्त्रालय हो । त्यो दिने वा नदिने नेपाली कांग्रेससँग पनि कुरा मिलाउनुपर्ने भयो, उपप्रधानमन्त्रीको कुरा थियो । त्यो दिन कुरा मिलेको हो । मधेशमा पनि नेतृत्व परिवर्तन गरेर जसपा नेपाललाई दिने कुरा चलेकै हो,’– उनले भने ।
साथै, जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार तलमाथि हुने अवस्था नरहेको उनले बताए । विधेयकहरु पारित गर्न सरकारलाई नेकपा (माओवादी केन्द्रले साथ दिने पनि उनले विश्वास व्यक्त गरे । संविधान संशोधनलगायतका विषयमा माओवादीले निःशर्त साथ दिने बताएको पनि उनले सुनाए ।
‘सरकार ढल्ने अवस्था त रहँदैन । प्रचण्डजीले संसद्मा बोल्नुभयो सदनमा अस्ती संविधान संशोधन अगाडि बढाऔं म साथ दिन तयार छु भन्नुभएको छ । प्रचण्डजी हुनुहुन्छ । अरु–अरु हुनुहुन्छ त्यहाँ साथ दिनुहुन्छ । प्रमुख प्रतिपक्षमा रहेर पनि उहाँहरुले साथ दिन सक्नुहुन्छ । नदिने कुरै छैन । राम्रो एजेण्डामा, देश बनाउने सवालहरुमा साथ दिनुहुन्छ,’– उनले भने ।




प्रतिक्रिया